• Thursday, March 5, 2026

अफगानिस्तान र पाकिस्तानबीच युद्धविराम सहमति, दोहामा शान्ति वार्तापछि घोषणा


दोहा, कतार अफगानिस्तान र पाकिस्तानबीच पछिल्लो सातादेखि जारी सीमावर्ती झडपलाई अन्त्य गर्दै दुवै देशले तत्काल प्रभावबाट लागु हुने युद्धविराममा सहमति जनाएका छन्। यो सहमति कतारको राजधानी दोहामा भएको शान्ति वार्तापछि आइतबार सार्वजनिक गरिएको हो।यो भिडन्तले पछिल्ला चार वर्षमा तालिबान पुनः सत्तामा आएपछि भएको सबैभन्दा खराब सीमा तनावको रूप लिएको थियो। एक साताको भिडन्तमा दर्जनौंको मृत्यु३ सयभन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्।

सीमा पार आतंकवाद रोक्ने प्रतिबद्धता

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मुहम्मद आसिफले “अफगान भूमिबाट हुने आतंकवादी गतिविधि तुरुन्त अन्त्य हुनेछ,” भन्दै युद्धविरामको घोषणा गरेका हुन्। उनले थपे, “दुवै देशले एक अर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नेछन्।”उनका अनुसार आगामी २५ अक्टोबरमा इस्तानबुलमा अर्को वार्ता हुने छ, जहाँ विस्तृत विषयमा छलफल गरिनेछ।

तालिबानको प्रतिक्रिया र कतार-टर्कीको भूमिका

अफगान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि युद्धविरामको पुष्टि गर्दै भने, “दुवै पक्षले शान्ति, आपसी सम्मान र छिमेकी सम्बन्धलाई मजबुत पार्न प्रतिबद्धता जनाएका छन्।”उनका अनुसार दुवै देशले कुनै पनि विवाद संवादबाट समाधान गर्नेमा सहमति जनाएका छन्। कतार र टर्कीलाई सफल मध्यस्थकर्ताको रूपमा धन्यवाद दिइएको छ।कतारका विदेश मन्त्रीले यो सहमति कार्यान्वयनमा रहिरहने सुनिश्चित गर्नका लागि नियमित अनुगमन बैठकहरू हुने जानकारी दिएका छन्।

तनावको पृष्ठभूमि

साम्प्रतिको तनाव पाकिस्तानद्वारा अफगान भूमिमा हवाई आक्रमण गरी “आतंकवादी लुकेका स्थानहरूमा प्रहार गरेको” दाबीपछि चर्किएको हो। अफगानिस्तानले ती आरोपहरू अस्वीकार गर्दै जवाफी कारबाही गरेको बताएको थियो।शुक्रबार सीमामा भएको आत्मघाती आक्रमणमा ७ पाकिस्तानी सैनिकको मृत्यु र १३ घाइते भएका थिए। पाकिस्तानले अफगान भूभागबाट लुकेर आएका चरमपन्थी समूहहरूलाई कारबाही गर्न अफगान सरकारलाई चेतावनी दिएको थियो।

मतभेदका बीच युद्धविराम सहमति

युद्धविराम घोषणा भइरहँदा पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तारारले भने X (Twitter) मा पोस्ट गर्दै सीमामा "इस्लामी उग्रवादीहरूको प्रमाणित शिविरहरूमा" पाकिस्तानले प्रहार गरेको बताए।उनले “सैनिक लक्षित आक्रमणहरू मात्र गरिएको” दाबी गरे र "नागरिकहरूलाई लक्षित गरिएको थिएन" भन्ने स्पष्टिकरण दिए।युद्धविराम सहमतिले हाललाई संघर्षलाई रोक्ने सम्भावना देखाए पनि, वास्तविक शान्ति स्थायीत्वका लागि आगामी दिनहरूमा इस्तानबुल वार्ता निर्णायक हुने बताइएको छ। दुबै देशबीच विश्वासको पुनःनिर्माण र सीमापार आतंकवादको अन्त्यका लागि क्रियाशील सहयोग र अनुगमन आवश्यक रहनेछ।

Please Login to comment in the post!

you may also like