• Tuesday, March 3, 2026

विदेशी कैदीबन्दीलाई पक्राउ गर्न नेपाल सरकारले कूटनीतिक पहल थाल्ने



काठमाडौं — जेन–जी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका ३० मुलुकका ६४५ विदेशी कैदीबन्दीलाई पक्राउ गर्न नेपाल सरकारले कूटनीतिक पहल थाल्ने भएको छ। गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशका नेपालस्थित दूतावासमा कैदीहरूको विस्तृत सूची, कसुर र बाँकी कैद अवधिसहितको औपचारिक नोट पठाउने तयारी गरेको छ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, फरारमध्ये ५४२ जना (८४ प्रतिशतभन्दा बढी) भारतीय नागरिक छन् भने बाँकी १०३ जना अन्य मुलुकका हुन्।सबैभन्दा धेरै २९२ जना काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका छन्। त्यस्तै, ललितपुरको नक्खु कारागारबाट ७५, सुनसरीको झुम्का कारागारबाट ४९, नवलपरासीबाट ३९ र महोत्तरीबाट ३२ जना फरार भएको तथ्यांक छ। 

फरार कैदीमध्ये २५२ जना (३९.०६%) लागुऔषध मुद्दा, १०२ जना (१५.८१%) जबर्जस्ती करणी, ४६ जना चोरी, ३६ जना सुन चोरी–पैठारी र ३५ जना कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका छन्। अन्य कसुरमा अपहरण, मानव बेचबिखन, डाँका, हतियार खरखजना, ठगी, राजस्व चुहावटलगायत समावेश छन् भने ५४ जनाको कसुर विवरण खुलेको छैन।विभागले गत २८ भदौमै सबै फरार कैदीलाई कालोसूचीमा राखी अध्यागमन कार्यालयमा नामावली पठाएको र राहदानी रद्द गरिसकेको जनाएको छ। यद्यपि, फरार भएको ५० दिन बितिसक्दा पनि कसैलाई पक्राउ गर्न सकिएको छैन। 

अधिकांश भारतीय नागरिक खुला सीमाबाट दक्षिणी नाका हुँदै भारत प्रवेश गरेको विभागको अनुमान छ। “उनीहरूको नामावली सबै अध्यागमनमा पठाएका छौं, तर खुला सीमाका कारण भाग्न सफल भएका छन्,” महानिर्देशक शर्माले भने, “अब दूतावासमार्फत कसुरसहितको नोट पठाएर पक्राउमा सहयोग मागिनेछ।”


Please Login to comment in the post!

you may also like