• Sunday, October 19, 2025

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको विद्रोहको अर्थ



काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व महासचिव तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्। जेन–जी आन्दोलनको विस्फोटक प्रभाव र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गठनसँगै उनको यो कदमले राजनीतिक परिदृश्यमा नयाँ बहस छेडेको छ।उनले आगामी राजनीतिक यात्राबारे खुलासा गर्दै जेन–जी आन्दोलनलाई '३०–३५ वर्षदेखिको आक्रोशको विस्फोट' भनेकी छन्।

श्रेष्ठले रास्वपा छोड्नुको मुख्य कारण पार्टीको 'गतिहीनता' र नेतृत्वको 'व्यक्तिप्रधान संस्कार' भएको बताइन्। 'पार्टी अलिक गतिहीनजस्तो भएको थियो। सुधारका लागि पटक–पटक प्रयास गरेँ, तर सोचेजस्तो भएन। एउटै स्थितिमा कति बस्ने?' उनले प्रश्न गरिन्। उनको यो असन्तुष्टि लामो समयदेखिको थियो। पार्टीभित्र सहमहामन्त्री पदबाट राजीनामा दिएरै उनले विद्रोहको सुरुवात गरेकी थिइन्।

'प्रश्न उठाउँदा सोसल मिडियामा मात्र जवाफ आउँथ्यो। फरक आवाजलाई आक्रमण गरिन्थ्यो,' श्रेष्ठले भनिन्। उनले रास्वपाको निर्माणमा धेरैको मेहनत र पसिना लागेको उल्लेख गर्दै नेतृत्वको गल्तीका कारण पूरै पार्टीलाई नराम्रो नठान्न आग्रह गरिन्। 'यो विद्रोह नेतृत्व परिवर्तनका लागि हो। पुराना पार्टीहरूमा पनि यस्तो लाखौं गुणा बढी छ,' उनले थपिन्।श्रेष्ठले रास्वपामा जोडिनुको कारण पनि पुराना दलहरूको 'एउटै अनुहार' र 'भ्रष्ट गठबन्धन' विरुद्ध भएको बताइन्। 'बिहान आलु र प्याजको तरकारी, बेलुका प्याज र आलुको तरकारी गर्नु भएन नि,' उनले पुराना नेताहरूप्रति व्यंग्य गर्दै भनिन्। पार्टीभित्र 'बुलिङ' र 'मिस इनफर्मेसन' को साइकल चल्ने गरेको उनको आरोप छ। 'अरूले पनि असन्तुष्टि छन्। उनीहरूले आफ्नो विवेक प्रयोग गरोस्,' उनले भनिन्।

श्रेष्ठले जेन–जी आन्दोलनलाई 'एकदुई दिनको होइन, ३०–३५ वर्षदेखिको उकुसमुकुसको विस्फोट' भनेकी छन्। यो आन्दोलन सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भए पनि भ्रष्टाचार, नेपोटिज्म र अवसर असमानताको मुद्दामा विकसित भएको उनको विश्लेषण छ। 'टिकटकमा नेपोबेबी र एन्टी करप्सन ट्रेन्ड चलेको थियो। परिवारमा जन्मेकै भरमा अर्को जिन्दगी जिउने, हामीले मेहनत गरे पनि अवसर नपाउने उकुसमुकुसले यो उठ्यो,' उनले भनिन्।आन्दोलनका क्रममा भएको दमनप्रति उनले कडा आलोचना गरिन्। 'सरकारले टाउको तोकेर गोली बर्सायो, एउटा बच्चाको ज्यानमा आठवटा गोली हान्यो– यो बर्बरताको पराकाष्ठा हो। ती त आफ्नै बच्चा, भाइबहिनी हुन्।' भदौ २३ मा स्कुल ड्रेसमै सडकमा उत्रिएका युवाहरूमाथि गोली चलाइएको स्मरण गर्दै उनले भनिन्, 'हामीले माइतीघर जाँदै गर्दा मानव अधिकार आयोग प्रमुखलाई ह्वाट्सएपमा लेखेँ– गोली हान्ने हो भने हान्दा हुन्छ।' तर, कसैले 'आई एम सरी' भनेनन्, उनको गुनासो छ।आन्दोलन 'हाइज्याक' भएको आरोपलाई उनले राजनीतिक रोटी सेक्नेहरूको स्वार्थ भनेकी छन्। 'मर्म यथास्थितिविरुद्ध हो। समान अवसर र मुक्तिको माग हो।' जेन–जीहरूलाई सघाउनु पर्ने र अबको निर्वाचनमा नयाँ पुस्ताबीच प्रतिस्पर्धा होस् भन्ने उनको अपेक्षा छ। 'पुस्तान्तरण नगरे तेस्रो–चौथो जेनेरेसनले आँट गरोस्। कि हटुन्, कि हटाउन्,' उनले चेतावनी दिइन्।जेन–जी आन्दोलनले जन्माएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति श्रेष्ठको पूर्ण समर्थन छ। तर, उनी मन्त्रिपरिषद् वा कुनै पद लिनेवाली छैनन्। 'यो तिमीहरूको आन्दोलन हो, म दलमा थिएँ। दलको लेभल लाग्छ। श्रेय दान नखोज्नु,' उनले भनिन्। मन्त्री पदलाई 'ग्ल्यामराइज' नगर्न आग्रह गर्दै भनिन्, 'यो तनावपूर्ण काम हो। कर्मचारीतन्त्र दलीयकरण भएको छ।'यो चुनावी सरकारले निर्वाचन गराउने म्याण्डेट मात्र भएकोले भयानक सुधार नहुने उनको मत छ। 'विगतमा उमेर खाइसकेका धेरै थिए, अब नयाँ पुस्ता आउन्।' सहयोगको मोडालिटीबारे उनले भनिन्, 'विभिन्न दलका नेताले जेन–जीलाई काट्छु भन्दै छन्, त्यसविरुद्ध आवाज उठाउनु सहयोग हो। शिक्षा समितिको ग्रुपमा मिस इनफर्मेसन शेयर नहोस् भनेर बोल्नु सहयोग हो। मेरो अनुभव सुनाउनु सहयोग हो।'

श्रेष्ठले आगामी राजनीतिक यात्राबारे 'अझै सोचेको छैन' भन्दै भनिन्, 'तर, परिवर्तन चाहनेहरू एक ठाउँमा हुनुपर्छ। त्यसका लागि प्रयास जारी राख्नेछु।' उनले पुराना दलहरूको 'लोकतन्त्रको आवरणमा एउटै अनुहार' लाई लोकतन्त्र नभएको ठहरिन्। 'नयाँ अनुहार, नयाँ संस्कार बोकेर सेवा गर्न आउन्। जेन–जी आन्दोलनको लहरमा उनको यो कदमले नयाँ पुस्ताको राजनीतिमा थप ऊर्जा थप्न सक्ने राजनीतिक विश्लेषकहरूको मत छ।

Please Login to comment in the post!

you may also like