काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवामा प्रतिकूल मौसमका कारण शुक्रबार भरतपुर हुँदै रुपन्देही प्रस्थान गरेका छन्। लामो समयसम्म मौसम अनुकूल नहुँदा उनी वैकल्पिक मार्ग प्रयोग गरेर गन्तव्यतर्फ गएका हुन्।
यसअघि बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त आदेशपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही जाने कार्यक्रम तय भएको हो।
यता, प्रतिकूल मौसमकै कारण आज देशभरका आधा दर्जन विमानस्थलमा उडान प्रभावित भएका छन्। बुद्ध एयरका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा दिउँसोसम्म उडान ठप्प भएको छ।
तराई क्षेत्रमा बाक्लो हुस्सु लागेपछि भिजिबिलिटी कम हुँदा उडान तथा अवतरण प्रभावित बनेको हो। यसका कारण तराईका विभिन्न जिल्लामा यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन्।