• Tuesday, March 3, 2026

चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबारदेखि पुनः सञ्चालनमा


दुई महिनाको अवरोधपछि चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्स प्रालिका अनुसार आवश्यक मर्मत, सुरक्षा परीक्षण र प्राविधिक निरीक्षण पूरा गरी यात्रुहरूका लागि सेवा पुनः सुचारु गर्न तयारी पूरा गरिएको छ। केबलकार सेवा पुनः सञ्चालनमा आएपछि भक्तजनहरूका लागि भालेश्वर महादेव मन्दिर दर्शन गर्न सहज हुनेछ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य र अन्य मनोरञ्जन सेवाहरू पुनः प्राप्त गर्न सक्नेछन्।

गत भदौ २४ गते केबलकार बटम स्टेशनमा भएको तोडफोडका कारण सम्पूर्ण संरचना क्षतिग्रस्त भएपछि सेवा स्थगित गरिएको थियो। सो घटनापछि चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिकहरूलाई बोलाएर आवश्यक मर्मत, पुनः परीक्षण र सुरक्षा मापदण्डहरूको पुनः मूल्याङ्कन गरेको थियो। प्राविधिक टोलीले दुई महिनाको अवधिमा सम्पूर्ण प्रणाली पुनर्स्थापना गरी सुरक्षित सञ्चालन सुनिश्चित गरेको व्यवस्थापनले जनाएको छ।चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले लामो समयसम्म धैर्यपूर्वक प्रतीक्षा गर्ने भक्तजन, पर्यटक र स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै सेवाको पुनः सञ्चालन सम्भव बनाउनेमा खटिएको प्राविधिक टोलीलाई विशेष धन्यवाद दिएका छन्। उनले भने, “हामीले यात्रुहरूको सुरक्षा र सहज सेवालाई प्राथमिकता दिँदै सबै प्राविधिक मापदण्ड पालना गरेका छौँ। अब सबै भक्तजन र पर्यटकहरूलाई पुनः स्वागत गर्न तयार छौँ।”

सेवा बन्द हुनु अघि दैनिक करिब दुई हजारभन्दा बढी भक्तजन र पर्यटकले चन्द्रागिरि केबलकारको सेवा लिने गरेका थिए। काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि हिल्स धार्मिक तथा प्राकृतिक सुन्दरताको संगमस्थल हो, जहाँबाट उपत्यकाको मनोरम दृश्य, हिमालको श्रृंखला र हरियाली वनको आनन्द लिन सकिन्छ।चन्द्रागिरि हिल्स व्यवस्थापनले स्थानीय समुदायले देखाएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ सुरक्षित, आधुनिक र पर्यटकमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ। पुनः सञ्चालनसँगै यो स्थल पुनः पर्यटक र भक्तजनको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like