• Tuesday, March 3, 2026

गोवाको नाइटक्लबमा भीषण आगलागी


गोवा-भारतको तटिय क्षेत्रमा रहेको एक लोकप्रिय नाइटक्लबमा लागेको भीषण आगलागीमा कम्तीमा २३ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। उत्तर गोवाको अर्पोरामा रहेको क्लबमा काम गर्ने कर्मचारीहरू सबैभन्दा धेरै प्रभावित भएको बताइए पनि केही पर्यटकहरू पनि मृत्यु भएकामध्ये परेका छन्। स्थानीय समयअनुसार शनिबार मध्यराततिर क्लबको भान्साघरतर्फ रहेको ग्यास सिलिन्डर विस्फोट भएपछि आगो तीव्र रूपमा फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। गोवाका प्रहरी महानिर्देशक अलोक कुमारका अनुसार अधिकांश शव भान्साघर वरपर फेला परेका छन्, जसले धेरै पीडित क्लबका कर्मचारी रहेको संकेत दिन्छ। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले तीन जनाको मृत्यु जलनका कारण भएको र बाँकीहरू धुवाँका कारण ज्यान गुमाएको बताए। घटनास्थलमा उद्धार कार्य जारी रहँदा आगलागीको वास्तविक कारण पत्ता लगाउन औपचारिक छानबिन सुरु गरिएको छ। गोवा भारतको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ, जहाँ हरेक वर्ष लाखौँ पर्यटक आउने गर्दछन्। हालैका वर्षहरूमा भारतका मनोरञ्जन केन्द्रहरूमा यस्ता आगलागीका घटनाहरू दोहोरिन थालेका छन्।

Please Login to comment in the post!

you may also like