काठमाडौं– नेपालीहरूको महान् चाड बडादशैंको आज मुख्य दिन, विजयादशमीको अवसरमा मान्यजनबाट टीका र जमरा लगाएर उत्सव मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।
समितिका सदस्य डा. बासुदेव कोइराला (वासुदेवकृष्ण शास्त्री) का अनुसार टीका लगाउने व्यक्ति पूर्व फर्कने र टीका लगाइदिने व्यक्ति पश्चिम फर्कनुपर्नेछ। घटस्थापनाका दिन राखिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका र जमरा लगाइन्छ। बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ।
विजयादशमीमा गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, ठूलाबडा र मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गरी यश, ऐश्वर्य, दीर्घायु र कार्यक्षमतामा वृद्धिको आशीर्वाद लिइन्छ। सामान्य व्यक्तिहरूले साइत नकुरी टीका लगाउन सकिने भए पनि राज्य सञ्चालकहरूले उत्तम साइतमा टीका ग्रहण गर्नुपर्ने समितिले जनाएको छ।
आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा ग्रहण गर्न सक्नेछन्। यो अवधिमा पहेंलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ। कोजाग्रत पूर्णिमामा महालक्ष्मीको व्रत र पूजा गरेपछि दशैं पर्व समापन हुनेछ।