• Sunday, October 19, 2025

दसैँको पिङ संस्कृति: हराउँदै गएको रौनक


कुनै समय यस्तो थियो, जब पिङबिनाको दसैँ परिकल्पना गर्न सकिँदैनथ्यो। घटस्थापनाको दिनसम्म गाउँघर र सहरमा लिङ्गे र रोटे पिङहरू ठडिन्थे, जसले दसैँको उल्लासलाई जीवन्त बनाउँथ्यो। तर समयको कालचक्रसँगै यो संस्कृति ओझेलमा पर्दै गएको छ। आधुनिकता, सहरीकरण, युवा पलायन र सामाजिक सञ्जालको बढ्दो प्रभावले पिङको रौनक हराउँदै गएको महसुस हुन्छ। तैपनि, देशभरका स्थानीय तह, संस्कृतिक क्लब र समुदायहरूले यो अमूल्य परम्परालाई जोगाउन सक्रियता देखाइरहेका छन्, जसले दसैँको मौलिक आनन्द फर्काउने आशा जगाएको छ।बाग्लुङ्ग कै बागलुङ्ग नगरपालिका १२ अमलाचौर कि ५२ बर्षीय कमलादेबी शर्मा बिगतको रौनक सम्झेर  सम्झनामा भावुक हुन्छिन। "पहिले-पहिले गाउँमा पिङ हाल्न महिनौँ अगाडिदेखि तयारी हुन्थ्यो। घाँस काट्न जाँदा बाबियो सङ्कलन गरिन्थ्यो, घरको धुरीमा सुकाइन्थ्यो। घटस्थापनाको दिन गाउँभरिका युवा जम्मा भएर लट्ठा बनाउँथे—कोही बाबियो भिजाउने, कोही बटार्ने, कोही बेर्ने। बलिया युवाहरू जङ्गल गएर लिङ्गा र काठ ल्याउँथे। पिङ हालिसकेपछि पूजा गरेर मात्र चढिन्थ्यो। टीकाको दिन 'भुईँ छोड्ने' चलन थियो," उनी सम्झन्छन्।बाग्लुङ्ग अमलाचौरका ७३  वर्षीय चिन्तामणि पाध्याले पनि त्यही रौनक सम्झिन्छन्। "दसैँ आउनु महिना दिन अगाडिदेखि गाउँमा उत्साह छाउँथ्यो। लट्ठा बटार्ने दिन भोज जस्तै हुन्थ्यो। बुढापाकाले बलियो लट्ठा बनाउने तरिका सिकाउँथे। पिङमा चढ्दा 'चाचाहुई, सररर' आवाज वरपरका गाउँसम्म सुनिन्थ्यो। केटाकेटी हरु पालो कुर्ने हो-हल्ला गर्ने ,उत्साहित हुने हुन्थ्यो , टीकाको दिन एकपटक पिङ चढेर भुईँ छोड्दा वर्षभरको दुःख-कष्टबाट मुक्ति पाइन्छ भन्ने विश्वास थियो," उनी भन्छन्।पिङ केवल मनोरञ्जन थिएन, यो सामूहिक एकता, शारीरिक स्फूर्ति र सांस्कृतिक पहिचानको प्रतीक थियो। वर्षभरको थकान मेटाउँदै, जमिन छोडेर आनन्द लिने यो परम्पराले गाउँलेहरूलाई एकताबद्ध गर्थ्यो।आधुनिकताको प्रभाव, सामाजिक सञ्जालको लत, अनलाइन गेम र अन्य मनोरञ्जनका साधनहरूले युवापुस्तालाई परम्परागत खेलबाट टाढा बनाएको छ। गाउँघरमा युवाहरूको विदेश पलायनले पिङ बनाउने जनशक्तिको अभाव भएको छ। पहिले दर्जनौँ युवा मिलेर पिङ बनाउँथे, तर अहिले त्यो सङ्ख्या पाउन मुस्किल छ। बाबियो काट्ने, लट्ठा बटार्ने, लिङ्गा खोज्ने जस्ता श्रमसाध्य कामबाट नयाँ पुस्ता टाढिएको छ। व्यस्त जीवनशैली र समयको अभावले पनि यो परम्परालाई कमजोर बनाएको छ।

 चिन्तामणि पाध्या भन्छन्, "अहिले न बाबियो काटिन्छ, न युवा गाउँमै छन्। भएकाहरू पनि मोबाइलमै व्यस्त छन्।" यो भोगाइ नेपालका धेरै गाउँको यथार्थ हो। पिङ नहुँदा दसैँमा ठूलो खालीपन महसुस हुन्छ।यद्यपि, पछिल्लो समय पिङ संस्कृति जोगाउन देशभरका स्थानीय तह, युवा क्लब र समुदायहरू सक्रिय भएका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ ले १९ वटा टोल विकास संस्था र धार्मिक सङ्घसंस्थालाई पत्र लेख्दै लिङ्गे पिङ उठाउन आह्वान गरेको छ। वडा कार्यालयले भनेको छ, "हाम्रो धर्म, संस्कृति र परम्परा हाम्रा अमूल्य सम्पदा हुन्। यिनलाई जोगाउनु हाम्रो जिम्मेवारी हो।"मकवानपुरकै थाहा नगरपालिकामा स्थानीयले लिङ्गे पिङ बनाएका छन्। मोरङको विराटनगर, राजवंशी टोलमा विराट राजवंशी समुदायका युवाले बनाएको पिङले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई एक ठाउँमा ल्याएको छ। स्थानीय प्रदीपकुमार विश्वास भन्छन्, "बच्चादेखि बुढासम्म रमाएर पिङ खेल्दैछन्। यो संस्कृति जोगाउने प्रशंसनीय कदम हो।"नेपालि सेना र स शस्त्र प्रहरी बल ले समेत आफ्नो सुरक्षा गण नजिकै सर्वसाधारण को पहुच मा हुने गरि पिङ राखेर संस्कृति को जगेर्ना गर्न संस्थागत पहल गरेको समेत देखिन्छ।  चितवनको राप्ती नगरपालिका–४ मा श्रीलक्ष्मी नारायण युवा समाजले पिङ बनाएको छ। सङ्खुवासभाको खाँदबारी युथ क्लबले टुँडिखेलमा लिङ्गे पिङ बनाएर खेल्न आह्वान गरेको छ। पर्साको ठोरीमा स्थानीय युवाले "पिङ हालिँदैछ, आउनुहोस्" भन्दै आह्वान गरेका छन्। गुल्मीको भार्से गाउँमा रोटे पिङ बनाइएको छ।स्थानीय तहहरूले पिङ निर्माणका लागि बजेट छुट्याउने, उपयुक्त ठाउँ छनोट गर्ने र समुदायलाई परिचालन गर्ने काम गरिरहेका छन्। गाउँका अग्रजहरूले युवालाई पिङ बनाउने तरिका सिकाउँदैछन् भने श्रमदानमार्फत सामुदायिक सहकार्य बढिरहेको छ। कतिपय नगरपालिकाले नगर प्रहरी र युवा क्लबमार्फत पिङ निर्माण गरेका छन्।

दसैँको पिङ संस्कृति नेपाली समाजको सांस्कृतिक र सामाजिक पहिचानको महत्त्वपूर्ण हिस्सा हो। यो केवल खेल वा मनोरञ्जन मात्र होइन, सामुदायिक एकता, सांस्कृतिक मूल्य र मानवीय सम्बन्धलाई जीवन्त बनाउने परम्परा हो। आधुनिकताको वेगमा हराउँदै गएको यो संस्कृतिलाई स्थानीय तह, युवा र समुदायको सामूहिक प्रयासले फेरि उजागर गर्ने सम्भावना छ। पिङको 'चाचाहुई, सररर' आवाज फेरि गाउँ-गाउँमा गुञ्जियोस्, र दसैँको मौलिक रौनक फर्कियोस्—यो नै सबैको चाहना हो।

Please Login to comment in the post!

you may also like