सन् २०२४ विश्व राजनीतिक इतिहासमा एउटा असाधारण वर्षका रूपमा दर्ज भएको छ। दर्जनौँ युद्ध, आर्थिक अनिश्चितता र प्रविधिगत तीव्र परिवर्तनबीच यो वर्षलाई मानिसहरूले विशेषगरी ‘सुपर इलेक्सन इयर’ अर्थात् महा–निर्वाचन वर्षका रूपमा सम्झनेछन्। यस अवधिमा विश्वका ६० भन्दा बढी देशमा चार अर्बभन्दा बढी नागरिक मतदानका लागि योग्य थिए। लोकतन्त्रको वैधानिकता र सहभागिताको दायरा विस्तार भएको जस्तो देखिए पनि यही वर्षले लोकतान्त्रिक प्रणालीमाथि गम्भीर प्रश्नहरू पनि उठायो।विशेषज्ञहरूले लामो समयदेखि चेतावनी दिँदै आएको ‘विश्वव्यापी इन्फोडेमिक’ अर्थात् सूचनाको महामारी सन् २०२४ का निर्वाचनहरूमा प्रत्यक्ष रूपमा देखियो। जेनेरेटिभ एआई पहिलो पटक सैद्धान्तिक जोखिमको दायराबाट बाहिर निस्केर राजनीतिक युद्धको मैदानमा शक्तिशाली हतियारका रूपमा प्रयोग हुन थाल्यो। कतिपय अवस्थामा एउटा डीपफेक सामग्रीले नै चुनावी नतिजा उल्ट्याउन सक्ने अनुमानसम्म गरियो। यद्यपि त्यति चरम परिणाम देखिएनन्, तर एआईले ‘स्लो–ड्रिप’ शैलीमा निरन्तर भ्रम फैलाउँदै मतदाताहरूको साझा यथार्थबोधलाई कमजोर बनाएको स्पष्ट देखियो।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव यस प्रवृत्तिको प्रमुख उदाहरण बन्यो। सन् २०१६ मै फेसबुक डेटा दुरुपयोगको आरोप खेपिसकेको अमेरिकी राजनीति सन् २०२४ मा अझ उग्र रूपमा प्रविधिको दुरुपयोगतर्फ उन्मुख देखियो। एआई प्रयोग गरी असत्य समाचार फैलाउने मात्र होइन, विद्यमान जातीय र राजनीतिक विभाजनलाई गहिरो बनाउने रणनीति व्यापक रूपमा अपनाइयो। जनवरी २०२४ मा राष्ट्रपति जो बाइडेनको आवाजसँग हुबहु मिल्ने एआई–निर्मित क्लोन आवाज प्रयोग गरी न्यू ह्याम्पशायरका करिब २५ हजार मतदातालाई फोन गरिएको घटना यसैको उदाहरण हो। उक्त आवाजले मतदातालाई प्राइमरी चुनावमा सहभागी नहुन आग्रह गरेको थियो। संघीय सञ्चार आयोगले यसलाई अवैध घोषणा गरे पनि कम लागतमा ठूलो स्तरको मतदाता प्रभावित गर्न सकिने खतरनाक नजिर स्थापित भयो।त्यसैगरी जुलाई २०२४ मा कमला ह्यारिसलाई लक्षित गरी बनाइएको अत्यन्तै परिष्कृत एआई भिडियोले अमेरिकी राजनीति हल्लायो। वास्तविक चुनावी विज्ञापनलाई तोडमोड गरी बनाइएको उक्त भिडियोमा ह्यारिसले आफू अयोग्य भएको र विविधताको कोटाबाट मात्रै अगाडि आएको दाबी गरेको जस्तो देखाइएको थियो। एलन मस्कले एक्समा सेयर गरेपछि स्पष्टीकरण आउनुअघि नै भिडियो १३ करोडभन्दा बढी पटक हेरियो। यसलाई व्यङ्ग्य भनिए पनि चेतावनीविना फैलिँदा धेरै दर्शकका लागि सत्य र झुटो छुट्याउन असम्भव भयो।
एआई जातीय प्रोपागान्डाको पनि प्रभावकारी माध्यम बन्यो। डोनाल्ड ट्रम्पलाई कालो समुदायका समर्थकसँग देखाइएका नक्कली तस्बिरहरू, आप्रवासीहरूलाई अपराधीको रूपमा चित्रण गर्ने भिडियोहरू र झुटा मतदान दाबी गर्ने क्लिपहरू व्यापक रूपमा फैलाइए। यस्ता सामग्रीको उद्देश्य प्राविधिक उत्कृष्टता होइन, तर भावनात्मक र सामाजिक विभाजनलाई तीव्र बनाउनु थियो।यस निर्वाचनमा एआईको सबैभन्दा खतरनाक पक्ष भने ‘लायर्स डिभिडेन्ड’ बन्यो। वास्तविक प्रमाण र फुटेजहरूलाई समेत ‘एआईले बनाएको’ भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्यो। यसले नागरिकमा गहिरो निराशा जन्मायो—यदि सबै कुरा नक्कली हुन सक्छ भने सत्य के हो भन्ने प्रश्न नै अर्थहीन बन्न थाल्यो।
भारतको सन् २०२४ को आम निर्वाचन राजनीतिक एआई प्रयोगको विश्वकै सबैभन्दा ठूलो प्रयोगशाला बन्यो। विशाल जनसंख्या, सक्रिय ह्वाट्सएप सञ्जाल र राजनीतिक ध्रुवीकरणका कारण एआई–निर्मित डिपफेक भिडियो, अडियो र तस्बिरहरू अभूतपूर्व रूपमा फैलाइए। मृत नेता एम. करुणानिधिको एआई अवतार प्रयोगदेखि धार्मिक र जातीय तनाव भड्काउने नक्कली अडियोसम्मका घटनाले नैतिक र कानुनी प्रश्नहरू उठाए।पाकिस्तानमा फेब्रुअरी २०२४ को चुनावमा एआई राजनीतिक अस्तित्व रक्षा र राज्य–प्रायोजित भ्रम दुवैको हतियार बन्यो। जेलमा रहेका इमरान खानको आवाज एआईद्वारा पुनर्निर्माण गरी उनका समर्थकलाई सन्देश दिइयो भने चुनाव बहिष्कारको झुटो अडियो अन्तिम समयमा सार्वजनिक गरियो।
स्लोभाकियामा चुनावको ठीक दुई दिनअघि मौन अवधिमा फैलिएको एआई–निर्मित अडियोले मतदाताको धारणा बदल्न सक्ने क्षणिक तर घातक प्रभाव देखायो। बेलायतमा त एआई स्वयं उम्मेदवार बनेर मतपत्रसम्म पुग्यो, जसले भविष्यको लोकतन्त्र कतातिर जाँदैछ भन्ने गम्भीर संकेत दियो।यी सबै घटनाले एउटै निष्कर्षतर्फ इङ्गित गर्छन्—सन् २०२४ का निर्वाचनहरूले लोकतन्त्र ‘पोस्ट–ट्रुथ युग’ मा प्रवेश गरिसकेको पुष्टि गरेका छन्। एआईको मुख्य खतरा झुट फैलाउनु मात्र होइन, सत्यको अस्तित्वमाथि नै प्रश्न उठाउनु हो। जब नागरिक सत्य–झुटो छुट्याउन थाक्छन्, तब लोकतन्त्र स्वयं कमजोर बन्छ। यही कारण, भ्रामक सूचनाविरुद्धको लडाइँ अब तथ्य–जाँचभन्दा अगाडि बढेर ‘प्रि–बन्किङ’ र नागरिक सचेतनातर्फ मोडिन थालेको छ।