• Tuesday, March 3, 2026

युरोप एक्लै अघि बढ्ने अवस्थामा : अमेरिका र जापानले रुसी सम्पत्ति प्रयोगको युरोपेली योजनामा साथ दिएनन्



ब्रसेल्स। युक्रेनको पुनर्निर्माण र रक्षा खर्चका लागि रुसको करिब २२५ अर्ब डलर बराबरको फ्रिज गरिएको सम्पत्ति (सोभरेन एसेट) प्रयोग गर्ने युरोपेली संघको महत्वाकांक्षी योजनाबाट अमेरिका र जापान बाहिरिएका छन्। पोलिटिकोले सोमबार प्रकाशित गरेको समाचारअनुसार जी–७ देशहरूको वित्तमन्त्रीस्तरीय बैठकमा यी दुई देशले युरोपको प्रस्ताविरुद्ध स्पष्ट असहमति जनाएका हुन्।युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लायन र बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले अघि सारेको यो योजनामा रुसको फ्रिज भएको सम्पत्तिको ब्याज वा मूलधन नै प्रयोग गरेर युक्रेनलाई कम ब्याजदरमा दीर्घकालीन ऋण दिने थियो। तर अमेरिकाले यो कदमलाई “अत्यधिक आक्रामक” ठहर गर्दै पछि हटेको छ भने जापानले आफ्नो कानुनी प्रावधानले यस्तो गर्न नमिल्ने बताएको छ।युरोपसँग रुसको करिब २१० अर्ब युरो सम्पत्ति फ्रिज छ, जसमध्ये अधिकांश बेल्जियमको युरोक्लियर डिपोजिटरीमा छ। अमेरिकासँग ५–६ अर्ब र जापानसँग करिब ३० अर्ब डलर मात्र छ। जी–७ भित्र सबैभन्दा ठूलो हिस्सा युरोपकै भएकाले रुसले जवाफी कारबाही गरेमा सबै जोखिम युरोपले एक्लै बेहोर्नुपर्ने अवस्था आएको छ।जी–७ को संयुक्त विज्ञप्तिमा “विभिन्न वित्तीय विकल्पहरूमा सहकार्य गर्ने” उल्लेख भए पनि “आ–आफ्नो कानुनी संरचनाको सम्मान” गर्ने वाक्यांश थपिएपछि विभाजन स्पष्ट भएको छ। युरोपेली अधिकारीहरूले यो अवस्थालाई “हामी एक्लै भए पनि अघि बढ्छौँ” भन्दै चुनौती स्वीकार गरेका छन् भने रुसी सञ्चारमाध्यमहरूले यसलाई “युरोपको पागलपनमा अमेरिका–जापानले साथ नदिएको” भन्दै प्रचार गरिरहेका छन्।यो घटनाले पश्चिमी एकतामा दरार देखिएको मात्र होइन, युक्रेनलाई चाहिने ४०–५० अर्ब डलर वार्षिक सहायता जुटाउन पनि नयाँ चुनौती थपिएको छ। अब सबैको नजर युरोपेली संघले एक्लै यो जोखिमपूर्ण कदम चाल्छ कि अन्तिम समयमा पानीबाराबार गर्छ भन्नेतर्फ छ।

Please Login to comment in the post!

you may also like