काठमाडौँ — नेपालमा नयाँ वायुसेवा कम्पनी थपिने पक्का-पक्की भएको छ। नागरिक उड्डयन प्राधिकरण (क्यान) मा उडान सञ्चालन अनुमति (एओसी) का लागि ७ वटा कम्पनीको आवेदन परेको छ र ती सबैको प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ।
क्यानका अधिकारीका अनुसार, “हाल सात कम्पनीको एओसी प्रक्रिया तेस्रो चरणमा छ। अब दुई चरण मात्र बाँकी छन्, ती पूरा भएपछि उडान अनुमति पाउँछन्।” यी कम्पनीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पहिले नै वायुसेवा सञ्चालनको इजाजतपत्र लिइसकेका छन्।आवेदन दिने कम्पनीहरूमा शाइन एयर, एनआरएसी एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत छन्। बाँकी तीन कम्पनीको नाम क्यानले सार्वजनिक गरेको छैन। प्रक्रियाको तेस्रो चरणमा कम्पनीको जहाज, प्राविधिक टोली, सुरक्षा मापदण्ड र सञ्चालन योजनाको गहिरो जाँच हुने गर्छ।
नेपालमा पछिल्लो समय हवाई यात्रुको संख्या बढेसँगै नयाँ एयरलाइन्स थप्ने क्रम तीव्र भएको छ। यी कम्पनीले एओसी पाएपछि आन्तरिक उडानमा थप प्रतिस्पर्धा हुने र यात्रुले सस्तो तथा गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ। क्यानले प्रक्रियालाई पारदर्शी र सुरक्षित बनाउन कडाइ गरेको जनाएको छ। चाँडै नै योग्य कम्पनीहरूलाई अनुमति दिने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।