• Thursday, March 5, 2026

एसेजमा इंग्ल्यान्डको सान्त्वना जित, सिरिज अस्ट्रेलियाकै नाम


इंग्ल्यान्डले एसेज सिरिजको चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको छ । दुई दिनमै सकिएको मेलबर्न टेस्टमा इंग्ल्यान्डले १ सय ७५ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो । पहिलो दिनमै दुवै टोलीले २० विकेट गुमाएका थिए । यद्यपि यो हारसँगै पनि पाँच खेलको एसेज सिरिज अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ । चौथो टेस्टपछि सिरिजको अवस्था ३–१ पुगेको छ ।

यसअघि सिरिजका सुरुका दुई टेस्ट अस्ट्रेलियाले समान ८ विकेटले जितेको थियो भने तेस्रो टेस्ट ८२ रनले आफ्नो पक्षमा पारेको थियो । अब सिरिजको पाँचौँ तथा अन्तिम टेस्ट आगामी आइतबार सिड्नीमा हुनेछ ।

यो जितसँगै इंग्ल्यान्डले अस्ट्रेलियाको घरेलु मैदानमा लगातार १८ खेलसम्मको हारको शृंखला तोडेको छ । इंग्ल्यान्डले यसअघि अस्ट्रेलियालाई अन्तिमपटक सन् २०११ मा सिड्नीमै हराएको थियो । त्यसयता १४ वर्षमा भएका १८ खेलमध्ये १६ खेल अस्ट्रेलियाले जितेको थियो भने दुई खेल बराबरीमा सकिएका थिए । सन् २०१३/१४ को एसेजमा ५–० ले ‘क्लिन स्वीप’ भएपछि इंग्ल्यान्ड लगातार पराजित हुँदै आएको थियो ।

शनिबार सम्पन्न दोस्रो दिन अस्ट्रेलियाले इंग्ल्यान्डलाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको थियो । मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलिया दोस्रो इनिङ्समा १ सय ३२ रनमै अलआउट भयो ।

यसअघि पहिलो इनिङ्समा अस्ट्रेलिया १ सय ५२ रनमै समेटिएको थियो । उस्मान खवाजले २९ रन बनाउँदा माइकल नेसरले २५ तथा एलेक्स केरीले २० रनको योगदान दिएका थिए । इंग्ल्यान्डका जस टंगले एक्लै ५ विकेट लिएका थिए ।

इंग्ल्यान्डले पहिलो इनिङ्समा १ सय १० रन मात्र बनाएको थियो । ह्यारी ब्रुकले सर्वाधिक ४१ रन बनाउँदा गस एट्किंसनले २८ रन जोडे । अस्ट्रेलियाका माइकल नेसरले ४ विकेट लिँदा स्कट बोलान्डले ३ विकेट लिएका थिए ।

Please Login to comment in the post!

you may also like