काठमाडौं, १२ सेप्टेम्बर २०२५ – नेपाल उद्योग वाणिज्य महासंघले देशभर भइरहेको जनजी (Gen Z) आन्दोलन र प्रदर्शनका क्रममा उद्योग–व्यवसाय, प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र अर्बौं रुपैयाँ बराबरको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। बुधबार महासंघको कार्यकारिणी समिति र पूर्वअध्यक्षहरूसँगको बैठकपछि जारी विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
महासंघले शुसासन, भ्रष्टाचार नियन्त्रण, वाक् स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोगप्रति युवा पुस्ताले देखाएको चासोलाई सम्मान गर्दै यी मुद्दाहरूको विवेकपूर्ण समाधानबाट मुलुक समृद्धिको बाटोमा अघि बढ्ने अपेक्षा गरेको छ। तर, आन्दोलनका कारण धेरै उद्योगी–व्यवसायीका कार्यालय, प्रतिष्ठान र निवासमा आक्रमण तथा आगजनी भएको भन्दै महासंघले यस्ता घटनाको भर्त्सना गरेको छ। प्रारम्भिक अनुमानअनुसार अर्बौं रुपैयाँको क्षतिले राजस्व र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा गम्भीर असर पर्ने देखिएको छ।
विज्ञप्तिमा भनिएको छ, “निजी क्षेत्रका गतिविधि निर्वाध रूपमा सञ्चालन नभए अर्थतन्त्रमा थप समस्या आउनेछ र राजस्वमा नकारात्मक प्रभाव पर्नेछ। त्यसैले उद्यमी–व्यवसायीहरूलाई निर्वाध रूपमा पेशा–व्यवसाय सञ्चालन गर्ने वातावरण र आवश्यक सुरक्षा सुनिश्चित गरिनुपर्छ।”
महासंघले निषेधाज्ञा वा कर्फ्यूको अवस्थामा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि सरकारसँग माग गरेको छ। यस्तो व्यवस्थापनका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरका सुरक्षा समितिमा महासंघका प्रतिनिधिलाई सहभागी गराउन पनि आग्रह गरिएको छ। साथै, देशभरका उद्यमी–व्यवसायीलाई गुणस्तरीय वस्तुको नियमित आपूर्ति सुनिश्चित गरी बजारमा अभाव हुन नदिन र प्रदेश, जिल्ला, नगर तथा वस्तुगत संघहरूमार्फत अनुगमनको व्यवस्था मिलाउन जोड दिइएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहे पनि धेरै भन्सार नाका बन्द भएकोप्रति ध्यानाकर्षण गराउँदै महासंघले आवश्यक वस्तुको आयात–निर्यात सहज बनाउन तत्काल भन्सार नाका सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
नेपालको निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१%, राजस्वमा ८०% र रोजगारीमा ८६% योगदान पुर्याउँदै आएको छ। महासंघले निजी क्षेत्रको सुरक्षासहितको वातावरणले मात्र अर्थतन्त्रलाई चलायमान बनाएर स्थायित्व कायम गर्न सकिने निष्कर्ष निकालेको छ। साथै, युवाहरूको चाहनाअनुसार शुसासन, स्वतन्त्रता, मर्यादित रोजगारी, लगानी प्रवर्द्धन र दिगो विकासका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै समुन्नत समाज निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको जोड दिएको छ।