• Sunday, October 19, 2025

अर्थ मन्त्रालयमा तत्काललाई एक जना सचिव मात्र, घिमिरे वित्त आयोगमा सरुवा


काठमाडौं। असोज ९ – दुई सचिवको दरबन्दी रहेको अर्थ मन्त्रालयमा अहिले तत्कालका लागि एक जना सचिवले मात्र काम गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव दिनेश घिमिरेसहित चार जना सचिवको सरुवा गरेको हो।

घिमिरेलाई राजस्व सचिवबाट सरुवा गरी प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिइएको छ। तर राजस्व सचिवको पदमा भने हाललाई कसैलाई सरुवा गरिएको छैन।

अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री रामेश्वर खनालले तत्काल अर्को सचिवको आवश्यकता नभएको बताएका छन्। हाल अर्थसचिवमा घनश्याम उपाध्याय कार्यरत छन् भने महालेखा नियन्त्रकको जिम्मेवारी सचिव शोभाकान्त पौडेलले सम्हालिरहेका छन्।

नयाँ अर्थमन्त्री आएपछि अर्थमन्त्री खनालले तीन जना सहसचिवको जिम्मेवारीमा समेत हेरफेर गरेका छन्। त्यसअनुसार सहसचिव महेश आचार्यलाई वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उनी यसअघि वित्तीय तालिम केन्द्रमा कार्यरत थिए।

यसअघि वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका सेवन्तक पोखरेललाई वित्तीय संघीयता महाशाखामा पठाइएको छ। त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख महेश बराललाई वित्तीय तालिम केन्द्रमा सरुवा गरिएको छ।

Please Login to comment in the post!

you may also like