शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देश विकासको बाटो केवल नाराबाट होइन, व्यवहारिक कार्यशैलीको परिवर्तनबाट खुल्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले युवाहरूलाई चेतनशील ढंगले अघि बढ्न आग्रह गरे-सिंहदरबारका गेट समातेर मात्र मुलुकको रूपान्तरण सम्भव छैन, परिवर्तन त हातमा बोकेर मैदानतिर उत्रिनुपर्छ।
मन्त्री पुनले आफ्नो शब्दलाई कठोर तर यथार्थपरक छटामा प्रस्तुत गरे-“अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ बुझेका ?” उनका यी वाक्यहरूमा निराशाभन्दा बढी आशा थियो, कारण उनले परिवर्तनको जिम्मा नयाँ पुस्तामै देखे।उनका अनुसार मुलुकलाई उज्यालो भविष्यतर्फ डो¥याउने एउटै सुनिश्चित बाटो भनेको आगामी फाल्गुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई अवसर दिलाउने हो। “युवाले जिते भविष्य चम्किन्छ, बुढा नेताहरूलाई बिदा गरे मात्र देशको ढर्रा बदलिन्छ,” उनले लेखे।उनले पुराना नेताहरूलाई आलोचनात्मक तर तीक्ष्ण भाषामा चित्रण गरे—स्वार्थ, लोभ र सत्ताको मोहमा डुबेकाहरूले देशको संयन्त्रलाई निस्तेज बनाइदिएका छन्।
पुनका शब्द अनुसार, यही सङ्कटको घेराबाट मुलुकलाई निकाल्ने शक्ति युवाहरूले बोकेका छन्, तर त्यसका लागि नाराभन्दा धेरै, व्यवहार परिवर्तन आवश्यक छ।मन्त्री पुनको सन्देश केवल राजनीतिक टिप्पणी थिएन; त्यो देशप्रेम, आलोचनात्मक चेतना र आशाको मिश्रण थियो-युवाहरूले आफ्नो भूमिकालाई पुनः परिभाषित गर्नुपर्छ, तब मात्र विकासको यात्राले गतिको अनुभव पाउँछ।