आज आश्विन शुक्ल पञ्चमीका दिन पहाडमा बसेर संसारका जीवहरूलाई नवचेतना प्रदान गर्ने देवी स्कन्दमाताको पूजा तथा आराधना भव्य रूपमा गरिँदै छ। कमलको फूलमा आसन भएकी, सेतो वर्ण र स्कन्दकुमार (कार्तिकेय) की आमा भएकी यी देवीलाई स्कन्दमाता भनिन्छ। यिनलाई पद्मासना देवीको रूपमा पनि पूजिन्छ।स्कन्दमाताको चार हात छन्, जसमा दाहिनेतर्फको माथिल्लो भुजाले भगवान् स्कन्दलाई काखमा सम्हालेको छ भने तल्लो भुजामा कमल पुष्प सुशोभित छ। देब्रेतर्फको माथिल्लो भुजा वरमुद्रामा र तल्लो भुजामा पनि कमल पुष्प छ। सिंह यिनको वाहन हो। सूर्यमण्डलकी अधिष्ठात्री देवीको रूपमा पूजिने स्कन्दमाताको उपासनाले भक्तहरू अलौकिक तेज र कान्तिले सम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख छ।यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले बसेका छन्। स्कन्दमाताको पूजा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरेको फल प्राप्त हुन्छ, जुन विशेषता केवल यिनीमा मात्र पाइन्छ। यिनको उपासनाले भक्तहरूको सबै इच्छा पूरा भई मोक्ष प्राप्त हुने र भवसागर पार गर्न कठिनाइ नहुने शास्त्रमा उल्लेख छ।पौराणिक कथानुसार, तारकासुरले कठोर तपस्या गरी ब्रह्माजीबाट शिवपुत्रको हातबाट मात्र मृत्यु हुने वर प्राप्त गरेको थियो। वरदानपछि तारकासुरले स्वर्गबाट देवताहरूलाई लखेटेर त्रास फैलाएको थियो। सतीदेवीको मृत्युपछि ध्यानमग्न शिवजीले पार्वतीको रूपमा जन्म लिएकी सतीको कठोर तपस्याबाट प्रभावित भई विवाह गरे। शिव र पार्वतीको सन्तानका रूपमा स्कन्दकुमार (कार्तिकेय) को जन्म भयो, जसले पछि तारकासुरको वध गरे।
स्कन्दमाताको पूजाका लागि निम्न सामग्री आवश्यक पर्छ:
देवीको प्रतिमा वा चित्र
आसन (रातो वा सेतो कपडा)
फूल (सेतो वा कमल)
कलश (तामा, पितल वा माटोको)
नरिवल, पञ्चपल्लव (बर, पिपल, शमी, आँप, डुम्री)
शुद्ध जल वा गङ्गा जल, अक्षता, दुवो, पान, सुपारी
फलफूल, नैवेद्य (दुग्धजन्य पदार्थ), धूप, बत्ती, चन्दन, अबिर, पञ्चामृत
घण्टी, आरतीको थाल
आजको दिन शुद्ध भएर हरियो रङ्गको कपडा लगाई उत्तरतिर मुख फर्काएर पूजा गर्नुपर्छ। कलश पूजा पछि स्कन्दमातालाई सौभाग्यसुत्र, चन्दन, बेसार, सिन्दुर, दुबो, बेलपत्र, आभुषण, पुष्पहार, सुगन्धित द्रव्य, धूप–दीप, नैवेद्य, फल, पान, दक्षिणा र पञ्चामृत चढाइन्छ। प्रदक्षिणा मन्त्र र वन्दना श्लोक पाठ गरी केराको प्रसाद चढाइन्छ। अन्तमा माता स्तोत्र पाठ, आरती र प्रसाद वितरण गरिन्छ।स्कन्दमाताको पूजा गर्नाले धार्मिक आस्थासँगै मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक मूल्य–मान्यतामा सकारात्मक प्रभाव पर्छ। यो पूजाले आत्मबल र आध्यात्मिक शक्ति प्राप्त हुने विश्वास छ।आज देशभरका मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। स्कन्दमाताको कृपाले सबैको कल्याण होस्।