• Thursday, October 16, 2025

सगरमाथाको पहिलो आरोहणमा महत्वपूर्ण योगदान दिएका कान्छा शेर्पाको निधन


काठमाडौं–        विश्वको सर्वोच्च शिखर सगरमाथाको सन् १९५३ को  ऐतिहासिक पहिलो सफल आरोहणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कान्छा शेर्पाको बुधबार राति निधन भएको छ। ९२ वर्षीय शेर्पा केही महिनादेखि काठमाडौंमा उपचाररत थिए। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पाका अनुसार, गएराति २ बजे उनको निधन भएको हो। उनको आइतबार अन्त्येष्टि गरिने जनाइएको छ।

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथाको शिखर चुम्दा विश्वले उनीहरूलाई मुख्य रूपमा सम्झने गरेको छ। तर, त्यही ब्रिटिस आरोहण टोलीमा शिखरसम्म पुग्ने बाटो पहिल्याउने जिम्मेवारीमा कान्छा शेर्पा पनि संलग्न थिए। खुम्बु पासाङल्हामु गाउँपालिका–३, नाम्चेका बासिन्दा कान्छा त्यतिबेला मात्र २० वर्षका थिए।

पहिलो आरोहण अभियानमा आधार शिविरसम्म ४ सय कामदार परिचालित थिए भने त्यसमाथि ३५ सदस्यीय टोलीले हिलारीसहितको ब्रिटिस दललाई सगरमाथाको चुचुरोतर्फ डोर्‍याएको थियो। कान्छासहित अन्य दुई शेर्पाले आधार शिविरदेखि चौथो शिविरसम्म बाटो निर्माणमा सक्रिय भूमिका खेलेका थिए। उनीबारे लेखिएका पुस्तक तथा लेखहरूमा उल्लेख भएअनुसार, उनले २७ हजार फिटसम्म तेन्जिङ र हिलारीसँगै यात्रा गरेका थिए।

नेपालको पर्वतारोहण इतिहासमा अमिट छाप छोड्ने कान्छा शेर्पाको निधनले शेर्पा समुदाय र आरोहण क्षेत्रमा शोक छाएको छ। उनीजस्ता योगदानकर्ताहरूको सम्मानमा विभिन्न संघसंस्थाहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। सगरमाथा आरोहणको यो ऐतिहासिक घटनाले नेपाललाई विश्वमा चिनाउने आधार तयार पारेको थियो, जसमा कान्छा शेर्पाको योगदानलाई बिर्सन सकिँदैन।

Please Login to comment in the post!

you may also like