काठमाडौं — अब नागरिकहरूले आफ्नो नाम, जन्ममिति, ठेगाना, विवाह दर्ता लगायतका व्यक्तिगत विवरण एकपटकका लागि सच्याउन सक्ने भएका छन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२’ स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनको बाटो खुलेको हो।
यसअघि सरकारले व्यक्तिगत विवरण सच्याउन सकिने गरी ऐन बनाए पनि त्यसमा स्पष्टता नहुँदा कार्यान्वयनमा समस्या थियो। नयाँ नियमावलीले उक्त प्रावधानलाई स्पष्ट पार्दै सहजीकरण गरेको छ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीका अनुसार, “अब जसको नाम, ठेगाना, जन्म, विवाह, मृत्यु वा सम्बन्ध विच्छेदका विवरण बिग्रिएका छन्, ती सबैले एकपटकका लागि सच्याउन पाउनेछन्,” उनले भने।अधिकारीका अनुसार नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक विवरण भएका व्यक्तिहरूका लागि पनि यो संशोधन लाभदायक हुनेछ।
मन्त्रिपरिषदले नियमावली संशोधन गरिसकेकाले अब राजपत्रमा प्रकाशित भएपछि यसको कार्यान्वयन सुरु हुनेछ।व्यक्तिगत घटना दर्ता तथा सच्याउने कार्य स्थानीय तहका वडा कार्यालयमार्फत सञ्चालन हुने विभागले जनाएको छ।