धरान — किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १४१औँ जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकारले महागुरुप्रति सम्मान प्रकट गर्दै सोमबार एक सूचना जारी गर्दै कोशी प्रदेशका सबै सार्वजनिक निकाय, विद्यालय तथा सरकारी कार्यालयहरूमा बिदा रहने जनाएको हो।महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते आइतबार इलाममा भएको थियो। समाज सुधारका अभियन्ता फाल्गुनन्दले किरात धर्मका धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यहरूको संरक्षण तथा पुनर्जीवनका लागि महत्वपूर्ण योगदान दिएका थिए। उनको निधन वि.सं. २००५ मा भएको थियो।फाल्गुनन्दलाई नेपाल सरकारले वि.सं. २०६६ मंसिर १६ गते राष्ट्रिय विभूतिका रूपमा घोषणा गरेको थियो।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जन्मजयन्तीको अवसरमा सन्देश जारी गर्दै फाल्गुनन्दलाई समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तकका रूपमा स्मरण गरेका छन्।मुख्यमन्त्री कार्कीले आफ्नो सन्देशमा भनेका छन्, “महागुरु फाल्गुनन्दले समाजमा सत्य, अहिंसा, समानता र मानवताको जग बसालेका थिए। कोशी प्रदेश सरकार सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धनमा प्रतिबद्ध छ।”
उनले प्रदेश सरकारले भाषा, संस्कृति र लिपिको संरक्षणका लागि संवैधानिक व्यवस्था अनुसार विभिन्न भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने नीति अघि सारेको पनि उल्लेख गरेका छन्।