• Tuesday, March 3, 2026

रास्वपा र कुलमान घिसिङबीच एकता सहमति नजिक: ड्राफ्ट तयार, हस्ताक्षरको तयारी


उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिक यात्रा अगाडि बढाउने सहमति जनाएका छन्। कमलपोखरीस्थित रास्वपा पूर्वसांसद अशिम शाहको घरमा भएको छलफलमा यो सहमति जुटेको हो। रास्वपाका एक नेताका अनुसार, सहमतिको मस्यौदा तयार पार्ने काम भइरहेको छ र केही समयमै हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

यसअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहबीच चलिरहेको छलफलमा काउन्सिल अफ जेन–जीका सुधन गुरुङले कुलमान घिसिङलाई लिएर गएका थिए। बौद्धस्थित एक होटलमा समानुपातिक सूची तयार पारिरहेका कुलमानलाई गुरुङले आफ्नो गाडीमा राखेर रवि–बालेन भएको स्थानमा पुर्‍याएका थिए। त्यसपछि भएको संवादमा तीनै पक्षबीच सहमति बनेको नेताहरूले बताएका छन्।

रास्वपा स्रोतका अनुसार, कुलमान पक्षलाई समानुपातिक सूचीमा १० प्रतिशत हिस्सा दिएर एकतामा ल्याउने प्रस्ताव गरिएको थियो। तर कुलमानले ३० प्रतिशत माग गरेका थिए। यसैबीच बालेन्द्र शाह पक्षलाई भने ४० प्रतिशत दिने सहमति भइसकेको छ। हाल दुवै पक्षबीच हिस्साबन्डा मिलाउने प्रयास जारी रहेको र अन्तिम सहमतिमा पुग्ने क्रममा रहेको बुझिएको छ। यो एकताले वैकल्पिक राजनीतिक शक्तिहरूलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like