काठमार्डाँ । नया वर्ष २०२६ को अवसरमा प्राथना नामक नेपाली संगीत भिडियो सार्वजनीक हुने भएको छ । नयाँ वर्ष २०२६ को अवसरमा सार्वजनिक हुन लागेको म्युजिक भिडियो ‘प्रार्थना’ ले दर्शकमाझ उत्सुकता जगाउन थालेको छ। यस म्युजिक भिडियोको टिजर र पोस्टर हालै सार्वजनिक भइसकेका छन्, जसले सामाजिक सञ्जालमा सकारात्मक चर्चा पाइरहेको छ।
रोशनी कार्की र प्रज्वल दुलाल मुख्य भूमिकामा देखिने ‘प्रार्थना’ एक भावनात्मक कथामा आधारित म्युजिक भिडियो हो। यस गितमा गायक समीर ठकुरीले आफ्नो आवाज दिनु भएको छ। भिडियोको कथा, लेखन तथा निर्देशन सन्देश भुर्तेल र प्रताप नेपालीले संयुक्त रूपमा गरेका हुन्। कथा एक युवकको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ, जहाँ एक केटा र केटीको सम्बन्धलाई तीन फरक चरण ९फेज० मार्फत देखाइएको छ। प्रेम, दूरी र आत्मबोधका तहहरूलाई संवेदनशील रूपमा प्रस्तुत गर्ने प्रयास यस भिडियोमार्फत टिजरमा प्रस्तुत गरिएको छ।
छायांकन पक्षमा निरज शर्माले क्यामेराको जिम्मेवारी सम्हालेका छन् भने अन्डरएक्सपोज सिनेमा प्रोडक्सनले यस परियोजनाको निर्माण गरेको हो। पोस्ट–प्रोडक्सनमा उषा कार्कीको सम्पादन र धीरज अधिकारीको कलर ग्रेडिङले भिडियोको भावनात्मक गहिराइलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, प्रकाश व्यवस्थापन ९ग्याफर० को जिम्मेवारी बिकास गन्धर्वले सम्हालेका छन्।
टिजर र पोस्टरले संकेत गरेअनुसार ‘प्रार्थना’ केवल प्रेमकथा मात्र नभई, सम्बन्धको समयक्रममा बदलिँदो मनोविज्ञान र अनुभूतिहरूको प्रतिनिधित्व गर्ने म्युजिक भिडियो हुने देखिन्छ। नयाँ वर्ष २०२६ को सुरुवातसँगै सार्वजनिक हुने तयारीमा रहेको यस परियोजनाले नेपाली म्युजिक भिडियो प्रेमीहरूलाई एक फरक र भावनात्मक अनुभव दिने विश्वास निर्माण पक्षले लिएको छ।