फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा उम्मेदवारले चुनावी प्रचार–प्रसार गर्दा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आचारसंहिता, २०८२ अनुसार निर्वाचन अधिकृतको अनुमति लिएर उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक सवारी साधन मात्र प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। सवारी साधन सञ्चालन गर्न नसकिने स्थानमा भने बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने जनाइएको छ।
आचारसंहितामा चुनावी प्रचारमा प्रयोग गरिने सवारी साधन विदेशी नम्बर प्लेटका हुन नहुने स्पष्ट गरिएको छ। साथै, एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिइएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नपाइने व्यवस्था गरिएको छ। अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्नसमेत निषेध गरिएको छ। आचारसंहिता उल्लङ्घन गरी दुईभन्दा बढी सवारी साधन प्रयोग गरेमा कारबाही हुने निर्वाचन आयोगले जनाएको छ।