काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिबीचको सहकार्य आफ्नो दस वर्षअघिदेखिको सपना रहेको बताएका छन्। बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले समकालीन नेपाली राजनीतिलाई नयाँ दिशामा लैजान वैकल्पिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको धारणा राखे।
‘नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्छ भन्ने मेरो दशकौँदेखिको सोच हो,’ उनले भने, ‘यही विषयमा परामर्श गर्न बालेनजीले मलाई बोलाउनुभएको थियो, त्यसैले आज यहाँ आएको हुँ।’
यसैबीच, आज बिहानैदेखि ललितपुरको ज्वागल क्षेत्रमा विभिन्न राजनीतिक भेटघाटमा व्यस्त रहेका मेयर बालेनले आफू दलीय राजनीतिमा औपचारिक रूपमा प्रवेश गर्ने तयारीमा रहेको जानकारी सार्वजनिक गरेका छन्। नयाँ दलमार्फत सक्रिय राजनीतिमा होमिने योजनासहित उनी देशका विभिन्न अनुभवी तथा प्रभावशाली नेताहरूसँग परामर्शमा जुटिरहेका छन्।
सोहीक्रममा डा. भट्टराईसँगको भेटमा बालेनले नयाँ राजनीतिक शक्तिको निर्माण, त्यसको दिशा, रणनीति तथा जनअपेक्षाअनुसारको वैकल्पिक राजनीति कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा सहयोग र मार्गनिर्देशनको अपेक्षा राखेका थिए।
यो भेटलाई परम्परागत राजनीतिको विकल्प खोजिरहेका नागरिकका लागि आशाको संकेतका रूपमा हेरिएको छ। लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दो असन्तुष्टि र नयाँ अनुहारप्रतिको जनआकांक्षाबीच बालेन–भट्टराई संवादले नेपाली राजनीतिमा वैकल्पिक धारको उदयलाई थप मजबुत बनाउने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।