• Saturday, June 21, 2025

बागलुङ मै कृषि गरेर लाखौं कमाउछन ढकाल


बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षका भए । मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चा वर्ष भयो ।

सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका ढकालले सुरुका दुई वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किने । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घसँग जोडिएपछि भने उनले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थालेका छन् ।

उनको फार्ममा हाल पाँचवटा भैँसी र चारवटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेका छन् । ढकालको फार्ममा हुर्कंदै गरेका चारवटा पाडी छन् ।

दूध बेचेर मासिक एक लाख ३० हजार बढी आम्दानी गर्न थालेको उनले बताए । गत वर्ष मात्र १७ लाख बढी आम्दानी भएको उनले जानकारी दिए । दूध मात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ । प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गरेको उनले बताए । राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएका छन् । प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उनको भनाइ छ ।

पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आएकी छन् । परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि  व्यावसायिक पशुपालन सम्भव भएको उनी बताउँछन् ।

Please Login to comment in the post!

you may also like