• Tuesday, March 3, 2026

मर्मतका नाममा पाँचतारे होटल 'हायात रिजेन्सी' बन्द,१३३ जना स्थायी तथा करार कर्मचारी बर्खास्त



काठमाडौं — देशकै चर्चित पाँचतारे होटल हायात रिजेन्सी काठमाडौंले आफ्ना सम्पूर्ण कर्मचारीलाई एकैपटक कामबाट निष्कासन गरेको छ। गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा होटलमा ठूलो क्षति पुगेपछि त्यसको मर्मत–सम्भारका काम सुरु भएको र सो अवधिमा होटल सञ्चालन असम्भव भएकाले श्रमिक कटौती गरिएको होटलले जनाएको छ।

मंगलबार राति होटलले जारी गरेको औपचारिक सूचनामा महाप्रबन्धक आशिष कुमारले १३३ जना स्थायी तथा करार कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरिएको उल्लेख गरेका छन्। सूचनामा भनिएको छ — “मर्मत–सम्भारका कार्यका लागि आर्थिक स्रोत जुटाउनुपर्ने, होटल सञ्चालनमा नरहेकाले श्रमिकलाई काममा लगाउन असमर्थ भएको कारण श्रम ऐन २०७४ अनुसार मंसिर २२ गतेदेखि लागू हुने गरी सम्पूर्ण श्रमिक कटौती गर्ने निर्णय गरिएको छ।”हायात होटलमा भदौ महिनाको अन्त्यतिर भएको ‘जेनजी आन्दोलन’का क्रममा तोडफोड र आन्तरिक क्षतिका कारण होटलको संरचना, फर्निचर र सेवामा ठूलो असर परेको थियो। त्यसपछि होटलले मर्मत कार्य सुरु गरिसकेको जनाएको छ। तर, होटल लामो समयका लागि बन्द रहँदा सञ्चालन खर्च, सुरक्षा, र मर्मत खर्च व्यवस्थापनमा समस्या देखिएको भन्दै होटल प्रशासनले कर्मचारी कटौतीको निर्णय गरेको हो।होटलका एक अधिकारीका अनुसार, “मर्मत कार्यका लागि लाखौँ अमेरिकी डलर बराबरको लागत लाग्नेछ। होटल बन्द रहेकाले कुनै आम्दानी नभएको अवस्थाले प्रशासनलाई यो कठिन निर्णय लिन बाध्य बनायो।”होटलमा क्रियाशील ट्रेड युनियनका प्रतिनिधिहरूले भने यो निर्णयमा असन्तुष्टि जनाएका छन्। उनीहरूले होटल प्रशासनले वार्ताको नाममा छलफल त गरेको तर कुनै वैकल्पिक समाधान प्रस्तुत नगरी सीधै बर्खास्तीको सूचना पठाएको आरोप लगाएका छन्।होटल प्रशासनले भने सूचनामा स्पष्ट रूपमा उल्लेख गरेको छ — “श्रमिक व्यवस्थापनका वैकल्पिक उपायका सम्बन्धमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनहरूसँग छलफल गर्दा पनि कुनै निष्कर्षमा पुग्न नसकिएकोले अन्ततः श्रमिक कटौतीको निर्णय गर्नुपर्‍यो।”श्रमिक संगठनहरूले यसलाई श्रम ऐनको मर्मविपरीतको कदम भन्दै श्रम तथा रोजगार मन्त्रालयमा गुनासो दर्ता गर्ने तयारी गरिरहेका छन्। एक श्रमिक प्रतिनिधिले भने, “होटलले श्रम ऐनको धारा प्रयोग गरेर श्रमिकलाई निकाल्ने निर्णय गरेको छ, तर श्रमिकलाई बर्खास्त गर्दा सामाजिक सुरक्षा र क्षतिपूर्तिका प्रावधान पालना नगरेको पाइन्छ।”श्रम ऐन २०७४ को दफा १४ र १५ अनुसार, कुनै प्रतिष्ठान बन्द गर्नुपर्ने वा लामो समयसम्म सञ्चालन गर्न नसकिने अवस्थामा मात्र श्रमिक कटौती गर्न पाइन्छ। त्यस्तो अवस्थामा पनि सम्बन्धित श्रमिकलाई कम्तीमा एक महिना अघिबाट सूचना दिनुपर्ने र आर्थिक क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्ने प्रावधान छ।


श्रम कानून विज्ञहरू भन्छन् — “यदि हायातले तत्काल श्रमिक कटौती गरे पनि श्रमिकको सेवा अवधिअनुसार क्षतिपूर्ति, ग्राच्युटी र सामाजिक सुरक्षा कोषको रकम तिर्नुपर्छ। अन्यथा यो कानुन उल्लंघन ठहर्न सक्छ।”हायात रिजेन्सी काठमाडौं सन् २००० मा सञ्चालनमा आएको थियो। ३५ एकड क्षेत्रफलमा फैलिएको यो पाँचतारे होटल राजधानीको बौद्ध क्षेत्रमा अवस्थित छ र पर्यटकहरूबीच एक प्रमुख गन्तव्यका रूपमा परिचित छ।कोरोना महामारीपछि होटल उद्योग नै संकटमा परेको बेला पनि हायातले सीमित रूपमा सेवा निरन्तरता दिएको थियो। तर पछिल्लो घटना र त्यसपछिको आर्थिक दबाबले होटललाई फेरि बन्द गर्न बाध्य बनाएको हो।होटल स्रोतका अनुसार, मर्मत कार्य पूरा गर्न कम्तीमा छ महिनादेखि एक वर्ष समय लाग्न सक्छ। त्यस अवधिभर होटल बन्द रहने र पुनः सञ्चालनपछिमात्र नयाँ श्रमिक नियुक्ति गर्ने तयारी गरिएको छ।होटल प्रशासनले मर्मत सम्पन्न भएपछि पुनः सञ्चालनका लागि तयारी थाल्ने जनाएको छ। तर, श्रमिक पक्षले न्यायसंगत क्षतिपूर्ति र पुनः नियुक्तिको सुनिश्चितता बिना आन्दोलन गर्ने चेतावनी दिएको छ।


पाँचतारे होटलका कर्मचारी एकैपटक बर्खास्त गर्ने निर्णय नेपाली पर्यटन र श्रम क्षेत्रमा दुर्लभ घटना हो। यसले लगानी, श्रम अधिकार र होटल उद्योगको भविष्यबारे गम्भीर प्रश्न उठाएको श्रम विश्लेषकहरूको टिप्पणी छ।

Please Login to comment in the post!

you may also like