नेपालको राजनीतिक इतिहासमा पहिलोपटक चुनावी प्रतिज्ञापत्रमाथि खुला प्रश्नोत्तर कार्यक्रम आयोजना हुँदैछ। ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ शीर्षकमा प्रत्यक्ष संवादको घोषणा गर्दै नेपाली कांग्रेस ले आफूलाई पारदर्शिता र जवाफदेहिताको पक्षमा उभ्याएको सन्देश दिन खोजेको छ। पार्टी सभापति गगन थापा ले देश–विदेशबाट आएका प्रश्नको प्रत्यक्ष जवाफ दिने तयारी गरेका छन्।तर यस्तै खुला मञ्चमा उठ्नैपर्ने केही गम्भीर प्रश्नहरू पनि छन्—विशेषतः राजनीतिक तथा नैतिक जिम्मेवारीसँग सम्बन्धित प्रश्न।
सबैभन्दा पेचिलो प्रश्न हो: ७६ जनाको ज्यान जाने घटनाक्रम चलिरहँदा, त्यस समय सत्ताको नेतृत्व गरिरहेको कांग्रेस र त्यसका महामन्त्रीको भूमिकाबारे स्पष्ट जवाफ किन नआएको?
राजनीतिमा दोषारोपण सजिलो हुन्छ। विपक्षमा हुँदा सरकारमाथि प्रश्न उठाउनु स्वाभाविक हो। तर जब आफैं सत्ता र निर्णय प्रक्रियाको केन्द्रमा हुन्छ, तब जिम्मेवारी पनि उत्तिकै ठूलो हुन्छ। यदि कुनै गम्भीर सुरक्षा असफलता, हिंसा वा राज्य संयन्त्रको कमजोरीका कारण दर्जनौं नागरिकको ज्यान गएको हो भने, त्यसबेला सरकारमा रहेको दल र त्यसका शीर्ष नेतृत्वले राजनीतिक तथा नैतिक उत्तरदायित्व लिनैपर्छ।केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमाथि तीव्र आलोचना गर्नेहरू स्वयं सत्ता सञ्चालनमा संलग्न हुँदा भएका घटनाबारे मौन बस्न मिल्छ? के अघिल्लो सरकारलाई मात्र दोष दिएर आफू पूर्ण रूपमा निष्कलंक बन्न सकिन्छ?राजनीतिमा निरन्तरता हुन्छ सफलता पनि साझा हुन्छ, असफलता पनि। यदि आज प्रतिज्ञापत्रमार्फत पाँच वर्षे योजना र सुशासनको वाचा गरिँदैछ भने, विगतका कमजोरीबारे आत्मसमिक्षा पनि उत्तिकै आवश्यक हुन्छ। जनताले केवल भविष्यका सपना होइन, विगतका गल्तीको स्वीकारोक्ति र सुधारको स्पष्ट प्रतिवद्धता पनि खोजिरहेका छन्।
खुला प्रश्नोत्तर कार्यक्रम साँच्चिकै ऐतिहासिक बन्ने हो भने, त्यहाँ सहज प्रश्न मात्र होइन, असहज र कठोर प्रश्नहरूको पनि इमानदार जवाफ आउनुपर्छ। लोकतन्त्रमा पारदर्शिता भनेको आलोचना सहने क्षमता हो।प्रश्न व्यक्ति वा दललाई अप्ठ्यारो पार्नका लागि होइन—राजनीतिक संस्कार सुधार्नका लागि हो। यदि जवाफ स्पष्ट, तथ्यपरक र आत्मसमिक्षात्मक आयो भने, त्यसले लोकतन्त्रलाई बलियो बनाउँछ। तर प्रश्नबाट जोगिने प्रयास भयो भने, ‘खुला संवाद’ केवल औपचारिकता मात्र बन्ने खतरा रहन्छ।