वायुसेनाको अनुसन्धानले दुर्घटनाको मुख्य कारण F-35 को नाक र मुख्य ल्यान्डिङ गियरको हाइड्रोलिक लाइनमा जमेको बरफलाई मानेको छ, जसले गर्दा गियरहरू ठीकसँग काम गर्न सकेनन्।उडान भरेपछि, पाइलटले ल्यान्डिङ गियरलाई भित्र तान्ने प्रयास गरे, तर त्यो पूर्ण रूपमा भित्र गएन।जब उनले गियरलाई फेरि तल झारे, त्यो सिधा नभई बायाँतिर बाँगो भएर अड्कियो।ल्यान्डिङ गियर मिलाउने प्रयास गर्दा विमानको सेन्सरले विमान जमिनमा भएको ठाने र अन्ततः दुर्घटना भयो।समस्या समाधानका लागि पाइलटले विमानको चेकलिस्टहरू पछ्याए, त्यसपछि उनले हवाई अड्डानजिक उडिरहेको बेला लकहिड मार्टिनका पाँच इन्जिनियरहरूसँग कन्फरेन्स कल गरे। रिपोर्टअनुसार यस कलमा एक वरिष्ठ सफ्टवेयर इन्जिनियर, एक उडान सुरक्षा इन्जिनियर र तीन ल्यान्डिङ गियर विशेषज्ञहरू सहभागी थिए।
जाम भएको नोस ह्विल सिधा गर्नका लागि पाइलटले दुई पटक 'टच एण्ड गो' (जहाँ विमान छोटो समयका लागि जमिनमा छुन्छ र तुरुन्तै उड्छ) अवतरणको प्रयास गरे।तर, यी प्रयासहरूले नोस ह्विललाई सिधा बनाउन सकेनन्, र यसको सट्टा बायाँ र दायाँ मुख्य ल्यान्डिङ गियरहरू पनि पूर्ण रूपमा बाहिर निस्कन नसक्ने गरी जमे। त्यसपछि F-35 को सेन्सरहरूले विमान जमिनमा रहेको संकेत गरे, जसले गर्दा विमानको कम्प्युटर प्रणाली 'स्वचालित ग्राउन्ड-अप्रेशन मोड' मा गयो।यस मोडमा गएपछि विमान 'अनियन्त्रित' भयो, किनकि यो उडिरहेको बेला पनि जमिनमा भएको जस्तो गरी सञ्चालित भइरहेको थियो। यसै कारण पाइलटले इजेक्ट गर्नुबाहेक अर्को विकल्प थिएन।
दुर्घटनाग्रस्त विमानको निरीक्षण गर्दा नाक र दायाँ मुख्य ल्यान्डिङ गियरको हाइड्रोलिक प्रणालीमा करिब एक तिहाइ भागमा पानी मिसिएको पाइयो, जबकि त्यहाँ पानीको मात्रा शून्य हुनुपर्ने थियो।अनुसन्धानमा यस्तै समस्या अर्को F-35 मा दुर्घटनाको नौ दिनपछि पनि देखिएको थियो, तर त्यो विमान भने सकुशल अवतरण गर्न सफल भयो।रिपोर्टमा उल्लेख भएअनुसार, लकहिड मार्टिनले दुर्घटना हुनुभन्दा करिब नौ महिनाअघि (अप्रिल २०२४) नै एक मर्मत न्यूजलेटरमा अत्यधिक चिसो मौसममा F-35 को सेन्सरमा आउन सक्ने समस्याबारे चेतावनी दिएको थियो।दुर्घटनाको समयमा तापक्रम माइनस १ डिग्री फरेनहाइट थियो। यदि कन्फरेन्स कलमा रहेका इन्जिनियरहरूले त्यो २०२४ को मर्मत न्यूजलेटरलाई ध्यान दिएका भए, उनीहरूले पाइलटलाई दोस्रो 'टच-एन्ड-गो' को सट्टा पूरै अवतरण गर्ने वा नियन्त्रित इजेक्सनको सल्लाह दिने सम्भावना थियो। यो दोस्रो प्रयासले नै दुर्घटनाको अवस्था सिर्जना गरेको थियो।यस घटनाका लागि वायुसेनाको दुर्घटना अनुसन्धान बोर्डले 'हवाई कन्फरेन्स कलमा गरिएका निर्णयहरू', हाइड्रोलिक तरल पदार्थको भण्डारण र वितरणको 'कमजोर सुपरिवेक्षण', र विमानको हाइड्रोलिक्स सेवा प्रक्रियाहरूलाई उचित रूपमा पालना नगर्नुजस्ता कारणहरूले दुर्घटनामा योगदान पुर्याएको निष्कर्ष निकालेको छ।