नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी (साम्बा) अष्ट्रेलियाको शीर्ष डिभिजनको महिला लिग 'ए-लिग' खेल्न न्युजिल्याण्ड प्रस्थान गरेकी छिन्। सोमबार राति उनी न्युजिल्याण्डतर्फ उडेकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो प्रस्थानबारे जानकारी दिँदै सावित्राले वेलिंगटन फिनिक्सबाट खेल्न र त्यहाँ रहेका नेपाली समर्थकलाई मैदानमा भेट्न आफू उत्साहित भएको बताएकी छिन्। गत महिना वेलिंगटन फिनिक्ससँग उनले दुई वर्षको सम्झौता गरेकी थिइन्। फिनिक्सले अष्ट्रेलियाको ए-लिगमा प्रतिस्पर्धा गर्दै आएको छ।सावित्री भण्डारीको अन्तर्राष्ट्रिय फुटबल करियर प्रभावशाली छ:उनले यसअघि फ्रान्सेली क्लब एन अभेन्ट ग्वेंगाम्पबाट युरोपेली लिग खेलेकी थिइन्। त्यहाँ १८ खेलमा ६ गोल गर्दै उनले युरोपको शीर्ष लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएकी थिइन्। उनले पेरिस सेन्ट जर्मन (पीएसजी) जस्तो चर्चित क्लबविरुद्ध पनि दुई गोल गरेकी थिइन्। इन्डियन वुमेन्स सुपर लिगमा समेत खेलिसकेकी उनले २४ खेलमा ६० गोल गरेकी थिइन् र लगातार तीन सिजन लिगको उपाधि जितेकी थिइन्।
सावित्री नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्। उनले नेपालका लागि ६० खेलमा ६६ गोल गरिसकेकी छिन्। उनको यो नयाँ यात्राले नेपाली फुटबललाई थप अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ।