नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन तयार पारेका छन्। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित सुरु हुने महाधिवेशनको पूर्वसन्ध्यामा उनले उक्त प्रतिवेदन पार्टी केन्द्रीय कार्यालय, च्यासलमा जारी सचिवालय बैठकमा पेस गरेका छन्। यस प्रतिवेदनमा ओलीले सत्ता साझेदार नेपाली कांग्रेससहित प्रमुख राजनीतिक दलप्रतिको आफ्नो धारणा र दृष्टिकोण सार्वजनिक गरेका छन्।
ओलीको राजनीतिक प्रतिवेदनले नेपाली कांग्रेसलाई ‘टेस्टेड’ (परीक्षित) शक्ति को संज्ञा दिएको छ, जसले प्रजातान्त्रिक आन्दोलनका उपलब्धिहरूलाई जोगाउन नसकेको टिप्पणी गरिएको छ। ओलीका अनुसार कांग्रेसले विगतमा पाएका ठूला अवसरहरूलाई पनि सदुपयोग गर्न सकेन: २००७ सालको क्रान्तिपछिका उपलब्धिहरू जोगाउन नसकेको, २०१५ सालको निर्वाचनमा दुईतिहाइ बहुमत प्राप्त गरेर पनि सरकार टिकाउन नसकेको, र २०४८ तथा २०५६ मा बहुमत पाएर पनि आन्तरिक कलहका कारण सरकार गुमाएको ओलीको प्रतिवेदनमा उल्लेख छ।ओलीको निष्कर्ष छ कि कांग्रेसले प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेले पनि लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माणमा पूर्णरूपमा असफल भएको छ। कांग्रेसको कमजोरीका कारण नै प्रजातन्त्र राजाको हातमा पुग्ने स्थिति बनेको प्रतिवेदनमा बताइएको छ।
ओलीको प्रतिवेदनले नेकपा (माओवादी केन्द्र) लाई वैचारिक र राजनीतिक नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएको शक्ति भनेको छ। उनले माओवादीका अधिकांश एजेन्डा असफल भएको र पार्टी वैचारिक, सांगठनिक तथा चारित्रिक रूपमा क्षयीकरण हुँदै गएको दाबी गरेका छन्। माओवादीको सशस्त्र युद्ध, सेनाविनाको पार्टीको अवधारणा र जनवादी अधिनायकत्वको सोच सबै असफल भएको ओलीको भनाइ छ। माओवादी केन्द्रको अस्थिरता, अवसरवाद, विभाजनकारी सोच र भ्रष्ट व्यवहार का कारण उक्त पार्टीको चरित्रमा ह्रास आएको ओलीको जिकिर छ। प्रतिवेदनमा 'प्रचण्डपथ' असफल भएर थन्किएको र 'माओवादी' ट्याग नै माओवादी केन्द्रका लागि भारी भएको ओलीको विश्लेषण गरिएको छ।
एमालेको दोस्रो विधान महाधिवेशन भोलि (शुक्रबार)देखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ। यस तीनदिने महाधिवेशनमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विस्तृत छलफल हुनेछ। यो प्रतिवेदनले एमालेको आगामी राजनीतिक दिशा, अन्य दलहरूसँगको सम्बन्ध र राष्ट्रिय एजेन्डाहरूमाथि पार्टीको धारणालाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ। ओलीले प्रमुख प्रतिस्पर्धी दलहरूमाथि गरेको कडा प्रहारले महाधिवेशनमा नयाँ ऊर्जा र बहस सिर्जना गर्ने देखिन्छ।