• Friday, October 17, 2025

भारत र चीनबीच पाँच वर्षपछि सिधा हवाई सेवा पुन: सुरु, व्यापार र पर्यटनमा नयाँ सम्भावना



नयाँ दिल्ली/बेइजिङ- भारत र चीनबीच पाँच वर्षको अन्तरालपछि सिधा हवाई सेवा पुन: सुरु हुने भएको छ। दुई देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि चलेको छलफलपछि यही अक्टोबर महिनाको अन्त्यसम्म सिधा उडान सञ्चालन गर्ने सहमति भएको भारतीय मिडियाहरूले जनाएका छन्।कोभिड-१९ महामारीका कारण सन् २०२० मा दुवै देशबीचका हवाई उडानहरू कटौती भएका थिए। त्यसै वर्ष गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको झडपले कूटनीतिक र सुरक्षा सम्बन्धमा तनाव सिर्जना भएपछि हवाई सेवा पुन: सुरु गर्ने प्रक्रिया थप जटिल बनेको थियो। तर, हालैको सहमतिले दुई देशबीचको सम्बन्धमा सकारात्मक सङ्केत देखिएको छ।यो सिधा हवाई सेवाले भारत र चीनबीच व्यापार, पर्यटन, र रणनीतिक व्यावसायिक साझेदारीलाई बलियो बनाउने अपेक्षा गरिएको छ। विशेषगरी, पर्यटन क्षेत्रमा ठूलो सम्भावना देखिएको छ किनभने दुवै देशका नागरिकहरूलाई एकअर्काको देशमा सहजै यात्रा गर्ने अवसर प्राप्त हुनेछ। साथै, व्यापारिक समुदायका लागि पनि यो सेवाले सहज र द्रुत आवतजावतको ढोका खोल्नेछ।

"यो सहमति दुई देशबीचको सम्बन्ध सुधारको महत्त्वपूर्ण कदम हो। सिधा हवाई सेवाले आर्थिक र सांस्कृतिक आदानप्रदानलाई गति दिनेछ," एक भारतीय नागरिक उड्डयन अधिकारीले बताए।यस कदमले दक्षिण एसिया र पूर्वी एसियाबीचको कनेक्टिभिटीलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ। हवाई सेवा सञ्चालनको विस्तृत विवरण र उडान तालिका चाँडै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like