ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । पूर्वगुरिल्ला नेता मुहिका ‘पेपे’ नामले पनि चिनिन्छन् ।
उनी सन् २०१० देखि सन् २०१५सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए । तर उनले अत्यन्त साधारण जीवनशैली अपनाउथे । उनको निधनको कारण खुलिसकेको छैन । यद्यपि उनी खाद्य नलीको क्यान्सरबाट पीडित थिए ।
उरुग्वेका वर्तमान राष्ट्रपति यामाण्डु ओरसीले पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको जानकारी दिँदै एक्समा लेखेका छन्, ‘तपाईंले हामीलाई जे दिनु भएको छ, त्यसका लागि र जनतामा अगाध प्रेमका लागि धन्यवाद ।’
को हुन् होसे मुहिका ?
उनी सन् २०१० देखि सन् २०१५सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए । राष्ट्रपति बनेपछि पनि मुहिका सन् २०१५ मा उरुग्वेको संसदको सिनेटर बनेका थिए ।
तर कार्यकाल सकिनुभन्दा अगाडि नै उनले पदबाट राजीनामा दिएका थिए । त्यतिबेला ८३ वर्षका मुहिकाले भनेका थिए- मैले आफ्नो कार्यकाल पूरा गर्न सक्दिनँ । किनकि यो लामो यात्रामा म थाकिसकेको छु ।
सिनेटको अध्यक्ष एवम् उपराष्ट्रपति लुसिया तोपोलान्स्कीलाई उनले आफ्नो राजीनामा पत्र पुर्याएका थिए । लुसिया मुहिकाकी श्रीमती हुन् ।
उक्त पत्रमा राजीनामा दिनुको कारण ‘व्यक्तिगत’ लेखिएको थियो ।
राजनीतिबाट रिटायर्ड भएपछि उनले पेन्सन लिन समेत इन्कार गरे । पदमा रहँदा पनि उनले आफ्नो सबै पारिश्रमिक दान गरेका थिए ।
मुहिका राष्ट्रपति बनेपछि विशाल भवनमा बस्न अस्वीकार गरेका थिए । उनी आफ्नी पत्नीसँग राजधानी मोन्टेविडियोको बाहिरी इलाकाको एक फार्म हाउसमा बसेका थिए । यी दुवै पति-पत्नी विद्रोही ग्रुपका सदस्य समेत थिए ।
राष्ट्रपतिको पदमा रहुन्जेलसम्म उनले आफ्नो अधिकांश तलब दान गरेका थिए । सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग सम्पत्तिको नाममा केबल १९८७ फोक्सवागन भिटल कार थियो ।
हल्का नीलो रंगको उक्त कार निकै प्रसिद्ध थियो । सन् २०१४ मा एक व्यक्तिले १० लाख डलरमा उक्त कार किन्न खोजेका थिए तर मुहिकाले बेच्न मानेनन् । त्यतिबेला उनले ‘मैले यो कार बेचें भने मेरो कुकुरलाई घुमाउन लैजान पाउँदैन’ भनेका थिए ।