काठमाडौ। प्रधानमन्त्री सुशीला कार्कीले श्रमिक तथा कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा होइन, गर्व र दायित्वका रूपमा लिन निजी क्षेत्रलाई आग्रह गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ‘आठौं सामाजिक सुरक्षा दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा श्रमिकको मौलिक हक र न्यायपूर्ण समाज निर्माणको आधार भएको बताइन्।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले श्रमिक–कर्मचारी हितका लागि स्थापना गरिएको कोषप्रति अभिभावकीय प्रतिबद्धता व्यक्त गर्दै जनचेतना विस्तार र योजनामा निरन्तरता प्रमुख चुनौती रहेको बताए।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सेवा सहज, डिजिटल र पारदर्शी बनाउन कोषले विशेष ध्यान दिनुपर्ने धारणा राखे।
त्यस्तै, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष जगत सिंखडाले योगदानकर्तामैत्री योजना आवश्यक रहेको बताए भने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) नेपालका निर्देशक नुमान ओज्कानले नेपालमा सम्मानजनक श्रम वातावरण निर्माणका लागि आईएलओ निरन्तर सहकार्य गरिरहेको जानकारी दिए।