रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पुनः चेतावनी दिएका छन् कि युक्रेनका सेना डोनबास क्षेत्रबाट नहटे रुसले बल प्रयोग गरेर यी भूभाग कब्जा गर्नेछ। “या त हामी बलपूर्वक यी क्षेत्र मुक्ति गर्छौं, वा युक्रेनी सेना स्वेच्छाले त्यहाँबाट हट्छ,” उनले भारत टुडेसँगको अन्तर्वार्तामा भने। रूस हाल डोनबासको करिब ८५% भूभाग नियन्त्रणमा राखेको दाबी गर्छ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने कुनै पनि भूभाग छाड्ने प्रस्तावलाई अस्वीकार गर्दै आएका छन्। पुटिनको टिप्पणी यस्तो बेला आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वार्ताकारहरूले मस्कोमा पुटिनसँग “युद्ध अन्त्यको सम्भावनामा सकारात्मक संकेत” देखेको बताएका थिए।ट्रम्पका दूत स्टीभ विट्कफ मस्कोमा भएको वार्तापछि अब फ्लोरिडामा युक्रेनी टोलीसँग भेट गर्ने तयारीमा छन्।अमेरिकाले प्रस्ताव गरेको प्रारम्भिक शान्ति योजनामा हाल युक्रेनको नियन्त्रणमा रहेका डोनबासका केही भूभागहरूलाई ‘अव्यवहारिक रूपमा’ रुसको प्रभावमा दिन प्रस्ताव गरिएको थियो। तर विट्कफ टोलीले मस्कोमा नयाँ, संशोधित प्रस्ताव प्रस्तुत गरेको थियो।पुटिनले भने यी संशोधित बुँदाहरू आफूले वार्ताभन्दा पहिले नदेखेको दाबी गरे।“त्यसैले सबै बुँदा विस्तारमा हेर्नै पर्यो, त्यसैले वार्ता लामो चल्यो,” उनले भने।उनका अनुसार केही बुँदामा रुस सहमत हुन नसक्ने स्पष्ट भइसकेको छ।यद्यपि, उनले विवादित बुँदाहरू खुलाउने चाहना देखाएनन्। मुख्य विवाद रुसी सेनाले कब्जा गरेका युक्रेनी भूभागको भविष्य र युक्रेनका सुरक्षा प्रत्याभूति जस्ता संवेदनशील विषयमा रहेको बताइन्छ।
रुसी राष्ट्रपपति सल्लाहकार युरी उशाकोभले वार्तापछि “कुनै प्रकारको सम्झौता नभएको” बताए। उनले हालैको युद्धमैदानमा रुसले हासिल गरेको भनिएका सफलताले “मस्कोको अडान झनै बलियो भएको” दाबी पनि गरे।युक्रेनले भने रुस निरन्तर युद्धविरामबाट टारिने प्रयास गरिरहेको र थप भूभाग कब्जा गर्न समय लिइरहेको आरोप लगाउँदै आएको छ।युक्रेनका विदेशमन्त्री एन्ड्री सिब्हियाले मस्को वार्तामा “विश्वको समय खेर फालिरहेको” प्रतिक्रिया दिएका छन्।राष्ट्रपति जेलेन्स्कीले बुधबार भने, “युद्ध अन्त्य गर्ने वास्तविक अवसर विश्वलाई महसुस भएको छ, तर वार्तालाई सार्थक बनाउन रुसमाथि दबाब आवश्यक छ।”उनका अनुसार, अमेरिकासँग जिनेभामा २३ नोभेम्बरमा सम्पन्न वार्तामा युक्रेनी टोलीले प्रारम्भिक अमेरिकी प्रस्तावमा केही महत्वपूर्ण संशोधन गराएको छ, जुन प्रस्ताव मूल रूपमा मस्कोको पक्षमा झुकाव रहेको आरोप लगाइएको थियो।डेर स्पिगेलले सार्वजनिक गरेको भनिएको गोप्य प्रतिवेदनअनुसार केही युरोपेली नेताहरू अमेरिकी भूमिकाबारे शंकित छन्।फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोनलाई उद्धृत गर्दै भनिएको छ—“अमेरिकाले सुरक्षा प्रत्याभूति स्पष्ट नभइकन युक्रेनलाई भूभागको मुद्दामा धोका दिन सक्छ।”जर्मन चान्सलर फ्रिडरिख मर्जले भने जेलेन्स्कीलाई चेतावनी दिँदै “आउँदो दिनहरू अत्यन्त संवेदनशील” हुने बताए।फिनल्याण्डका राष्ट्रपति एलेक्जान्डर स्टब्बले पनि “युक्रेनलाई एक्लै अमेरिकी दबाबमा नछोडिनु पर्ने” बताएका छन्।यद्यपि फ्रान्सले उक्त अभिव्यक्तिलाई अक्षरशः आफ्नो भनाइ नभएको स्पष्टीकरण दियो।ह्वाइट हाउसले भने ट्रम्प प्रशासनका सबै वार्ताकारहरू “रुस–युक्रेनबीचको हिंसा रोक्न र दीर्घकालीन, कार्यान्वयनयोग्य शान्ति” का लागि निरन्तर काम गरिरहेको जनाएको छ।
अमेरिकी पक्षका अनुसार, दुबै पक्षका माग र धारणा बुझेर संशोधित प्रस्ताव तयार गर्ने प्रयास भइरहेको छ।रुसले २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण थालेदेखि हालसम्म करिब २०% भूभाग कब्जा गरेको छ। पछिल्ला हप्तामा दक्षिण–पूर्वी क्षेत्रमा रुसी सेना विस्तारै अघि बढिरहेको र दुबै पक्षमा ठूलो सङ्ख्यामा हताहत भएको रिपोर्ट छ।