२०७९ को स्थानीय तह निर्वाचनमा धरानका मेयरका लागि उम्मेदवार बनेका हर्कराज राई (हर्क साम्पाङ)सँग त्यसबेला ठूलो टिम थिएन। सामान्य कार्यकर्ता मात्र साथमा थिए, ह्यान्ड माइक बोकेर आफैँ बजार र बस्ती डुल्थे। साना–ठूला सबै दलका नेताले उनलाई ‘जित्न नसक्ने उम्मेदवार’ ठानिरहेका थिए। तर, साम्पाङले सबै अड्कल उल्टाउँदै कांग्रेस–माओवादी गठबन्धन र एमालेका दुवै उम्मेदवारलाई प्रभावशाली अन्तरले पराजित गरे।
धरानमा मेयर बनेसँगै श्रम–अभियानमार्फत निरन्तर चर्चा कमाएका साम्पाङ अहिले श्रम संस्कृति पार्टी गठन गरी आगामी निर्वाचनलाई लक्षित गर्दै शक्तिशाली वैकल्पिक दल उभ्याउने रणनीतिमा छन्। कोशी प्रदेशका १२ जिल्लामा जनसंपर्क अभियान सकाइसकेका पार्टीका प्रवक्ता सत्य घले भन्छन्, “१४ जिल्लामै जित्ने हाम्रो लक्ष्य होइन, स्थितिले त्यही संकेत गरिसकेको छ।”साम्पाङ सहभागी हुने सभा र र्यालीहरूमा देखिने जनसमूह सामान्य राजनीतिक कार्यक्रमजस्तो हुँदैन। टोल, डाँडा, छत, बार्दलीदेखि साँघुरा गल्लीसम्म मानिसहरूको भीड उर्लिएको देखिन्छ। धेरैजसो युवायुवती मोबाइल क्यामेरा लिएर भिडियो खिचिरहेका हुन्छन् भने पाका नागरिकहरू ध्यानपूर्वक साम्पाङको भाषण सुन्दै उभिएका हुन्छन्। सहभागीहरूको ‘बडी ल्याङ्गवेज’ले उनीहरूमध्ये धेरैजसो पुराना दलभन्दा विकल्पप्रति बढी आकर्षित देखिन्छन्।
पूर्वी पहाडी भूभाग—धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङ—सम्म फैलिएको साम्पाङको प्रभाव पुराना दलका लागि गम्भीर चुनौती बनेको छ।उनका अधिकांश र्यालीहरूमा पार्टीभन्दा देशको झण्डा फहराइन्छ। “पार्टी होइन—देश पहिलो” भन्ने सन्देशसहितको यो शैलीले साधारण नागरिकमा साम्पाङलाई अधिक ‘ग्रासरुट नेता’को रूपमा चित्रित गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।साम्पाङको बढ्दो लोकप्रियताले कांग्रेस, एमाले र माओवादीभित्र त्रासको वातावरण देखिन थालेको छ।एमाले खोटाङका एक नेताले चिन्ता व्यक्त गर्दै भने, “हाम्रै कार्यकर्ता साम्पाङतिर आकर्षित भइरहेका छन्। यसरी नै बढ्दै गए आगामी चुनावमा गाह्रो पर्न सक्छ।”भोजपुरका एक कम्युनिस्ट नेता भन्छन्, “पहाडी जिलेमा त प्रभाव निकै छ। यस्तै गतिमा चुनावसम्म गयो भने पुराना परिणाम उल्टिन सक्छ।”
झापाका एक कांग्रेस नेताले आदिवासी–जनजाति मतदाता साम्पाङतिर तीव्र रूपमा आकर्षित भएको बताए, “हाम्रा ठूला नेताहरू आउँदा मान्छे बस्दैनन्, तर साम्पाङका कार्यक्रममा बिना प्रचार पनि भीड उर्लिरहेको छ।”पूर्वमा अभियान सकिसकेपछि साम्पाङ अब पश्चिमतिर अभियान विस्तार गर्न लागेका छन्। उनले मंसिर २० मा हेटौंडा, २१ मा चितवन, २२ मा काठमाडौं र २३ मा काभ्रेमा ठूला कार्यक्रम आयोजना गर्ने घोषणा गरेका छन्। “अब पश्चिम मिलाएर आउँछु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।प्रवक्ता सत्य घले भन्छन्—“कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला सकिसके। अब ओखलढुंगा र सोलु पनि अर्को महिनामा सम्पन्न हुन्छ। कोशीमा हामी पहिलो दल बन्ने स्थिति बनिसक्यो।”राजनीतिक विश्लेषक हेमराज भण्डारीका अनुसार साम्पाङको अभियान पुराना दलका परम्परागत शक्ति–केन्द्रहरू भत्काउने दिशामा छ।
उनका अनुसार,जनजाति बहुल क्षेत्र,पहाडी भूभाग,युवा–केन्द्रित समूह!उनीप्रति आकर्षित देखिँदा साम्पाङको ‘श्रम गरेर देश बनाऔँ’ भन्ने नाराले तल्लो तहसम्म प्रभाव जमाएको छ।प्राध्यापक कृष्ण पोखरेल भन्छन्, “यसपटक मतदाता कुनै पार्टीप्रति जकडिएको छैन। गढ अब गढ रहँदैन। पूर्व र तराई दुवै क्षेत्रमा साम्पाङले प्रभाव देखाइसकेका छन्।”उनले चेतावनी दिए—यदि पुराना दलले फेरि उही पुराना अनुहार (टेस्टेड नेता) दोहोर्याए भने परिणाम ‘भयानक’ हुन सक्छ। “पार्टीका कार्यकर्ताले नै भोट खसाल्न नआए के हुन्छ? युवालाई मौका नदिए, आगामी निर्वाचनमा ठूलो झड्का खान सक्छन्।”