• Saturday, June 21, 2025

सहकारी समस्या छानबिनको लागि समिती:अन्ततः प्रमुख दलहरु सहमति नजिक


सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका छन् ।

उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्नेसमेत शीर्ष नेताहरुले सहमति जनाएका छन् ।

कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनेछन् । उक्त कार्यदलले भाेलि टीओआर बनाउनेछ ।

संसदको गत्यावरोध हटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए । उक्त बैठकमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक मिसिएका थिए ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले आजै बिहान पनि कांग्रेससँग छलफल गरेका थिए । कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो । राजनीतिक रिस्साकस्सी बिच भएको सहमतिले काम गर्छ गर्दैन केही समय कुर्नै पर्ने देखिन्छ।

Please Login to comment in the post!

you may also like