• Monday, October 19, 2026

पर्यटन मन्त्रि लाई खुला पत्र


                                                                                                                                                                                                                                                

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यू,

यो पत्र लेख्न बस्दा मेरो अगाडि कुनै कार्यालयको फाइल छैन, कुनै राजनीतिक दलको घोषणापत्र छैन र कुनै व्यक्तिविशेषप्रतिको आग्रह–पूर्वाग्रह पनि छैन। मेरो अगाडि छ-नेपालको आकाश।

त्यही आकाश, जसलाई हेर्दै मैले आफ्नो जीवनको ऊर्जाशील दुइ दशकभन्दा बढी समय यही धर्तिमा बिताएँ। त्यही आकाश, जहाँबाट प्रत्येक दिन नेपाली सपना बोकेर जहाजहरू उड्छन्। त्यही आकाश, जहाँ कसैको पहिलो विदेश यात्रा हुन्छ, कसैको घर फर्किने खुसी हुन्छ, कसैको रोजगारीको आशा हुन्छ र कसैको जीवन नै जोडिएको हुन्छ।आज त्यही आकाशमुनि उभिएर म तपाईंलाई एउटा प्रश्न सोध्न चाहन्छु-हामी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुधार गर्न खोजिरहेका छौँ कि थकित देखिएको एउटा संस्थालाई स्याउझैँ काटेर दुई टुक्रा बनाउन खोजिरहेका छौँ?

मन्त्रीज्यू, स्याउ काट्न धेरै बुद्धि चाहिँदैन। चक्कु चलाए पुग्छ। तर स्याउभित्रको कुहिएको भाग कहाँ छ र स्वस्थ भाग कहाँ छ भनेर छुट्याउन भने विवेक चाहिन्छ। संस्था टुक्र्याउन ऐन बनाउन सकिन्छ तर संस्था बलियो बनाउन दृष्टि, नेतृत्व, इमानदारी र संस्थागत संस्कार चाहिन्छ।आज नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनको संघारमा छ। संसद्को टेबलमा विधेयक पुगेको छ। बहस भइरहेको छ। कसैले यसलाई सुधारको अनिवार्य बाटो भनिरहेका छन्, कसैले अन्तर्राष्ट्रिय मापदण्डको आवश्यकता। कसैले नियामक र सेवा प्रदायक छुट्टिनैपर्ने तर्क गरिरहेका छन्।सायद यी तर्कहरूमा आफ्नो ठाउँमा सत्य पनि होला।तर मेरो प्रश्न यति मात्र हो-के हाम्रो नागरिक उड्डयनको सबैभन्दा ठूलो समस्या एउटै संस्था हुनु हो?यदि हो भने, विगतमा भएका कमजोरीहरूका लागि जिम्मेवार संरचना छुट्टिएपछि सबै समस्या समाधान हुन्छन्?यदि होइन भने, किन हामी समस्याको जरा खोज्नुको सट्टा संस्थाको हाँगा काट्न हतार गरिरहेका छौँ?मन्त्रीज्यू, मैले नागरिक उड्डयनमा बिताएका वर्षहरूले मलाई एउटा कुरा सिकाएको छ-जहाज आकाशमा उडेको देखिए पनि त्यसको वास्तविक सुरक्षा जमिनमै तय हुन्छ।

 ककपिटमा बसेको पाइलट मात्र जहाज उडाउँदैन। एयर ट्राफिक कन्ट्रोलर, इन्जिनियर, मर्मतसम्भार गर्ने प्राविधिक, फायर फाइटर, सुरक्षा कर्मचारी, विमानस्थल व्यवस्थापक, नियामक, नीति निर्माता-यी सबैको सामूहिक जिम्मेवारीले एउटा उडान सुरक्षित हुन्छ।त्यसैले नागरिक उड्डयनमा एउटा गलत निर्णय कागजमा मात्र गलत हुँदैन। त्यसले कुनै दिन रनवेमा, आकाशमा वा कुनै परिवारको ढोकामा आफ्नो मूल्य माग्न सक्छ।

यही कारणले आज म तपाईंलाई अझ गम्भीर भएर प्रश्न गर्न चाहन्छु।

हामीले तथ्यलाई कति गम्भीरतापूर्वक लिएका छौँ?अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका मूल्यांकन, सुरक्षा सूचकांक र तथ्यांकहरूले नेपाललाई समय–समयमा दिएका संकेतहरूलाई हामीले पर्याप्त गम्भीरतापूर्वक लिएका छौँ? कि हामीलाई तथ्यांकभन्दा समाचारको हेडलाइन प्यारो हुन थालेको छ?मलाई सबैभन्दा बढी पीडा यही कुराले दिन्छ।हामी तथ्यमा आधारित शासनको कुरा गर्छौँ, तर निर्णयको बेलामा तथ्यभन्दा आवाज ठूलो हुने गरेको छ।कहिलेकाहीँ लाग्छ-नेपालको नागरिक उड्डयन पनि नेपालको राजनीतिजस्तै धुमिल हुँदै गएको छ। को सही हो, को गलत हो, कसले के गर्‍यो, कसले कसलाई बचायो, कसले कसलाई आरोप लगायो-यी प्रश्नले वास्तविक प्रश्नलाई छोपिदिएका छन्।विगतमा नागरिक उड्डयन क्षेत्रका उच्च पदमा बसेका केही पूर्वमहानिर्देशकहरू कानुनी कारबाही र जेलसम्म पुगेका घटना पनि हामीले देखेका छौँ। कसैलाई दोषी वा निर्दोष ठहर गर्ने अधिकार अदालतको हो। तर ती घटनाहरूले एउटा ठूलो प्रश्न भने छाडेका छन्-हाम्रो प्रणाली कहाँ चुक्यो?

यदि गल्ती व्यक्तिको मात्र थियो भने त्यस्ता व्यक्ति आए र गएसँगै समस्या सकिनुपर्ने हो।तर समस्या फेरि दोहोरिन्छ भने हामीले व्यक्ति होइन, प्रणाली हेर्नुपर्छ।मन्त्रीज्यू, अहिले पनि प्राधिकरणभित्र निर्णय प्रक्रियाका विषयमा प्रश्नहरू उठिरहेका छन्। स्वायत्त भनिएको संस्था आफ्नै अधिकारक्षेत्रका कतिपय निर्णयमा मन्त्रालयको स्वीकृति खोज्दै हिँड्नुपर्ने अवस्था हो भने त्यो कस्तो स्वायत्तता हो?ऐनले दिएको अधिकार प्रयोग गर्न नसक्ने स्वायत्तता केवल कागजको सुन्दर शब्द होइन र?स्वायत्तता भनेको अधिकार मात्र होइन। स्वायत्तता भनेको अधिकारसँगै आउने उत्तरदायित्व हो।

यदि निर्णय गर्न डराउने हो भने स्वायत्तता किन?

यदि हरेक निर्णय मन्त्रालय पठाउने हो भने अधिकार किन?

यदि गल्ती हुँदा कसले जिम्मेवारी लिने भन्ने स्पष्ट छैन भने संस्था किन?

 आज नेतृत्वमा को छ भन्नेभन्दा पनि नेतृत्वले के गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हो। कसैले मन्त्रालयको मन जित्यो कि जितेन, कसैको राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध छ कि छैन-यी कुरा नागरिक उड्डयनको मूल्यांकनका आधार बन्नु हुँदैन।नेतृत्वको मूल्यांकन एउटै प्रश्नले हुनुपर्छ-उसले संस्थालाई कति सुरक्षित, सक्षम, पारदर्शी र उत्तरदायी बनायो?मन्त्रीज्यू, कुनै एयरलाइन्सको जहाज धावनमार्गमा दुर्घटनामा पर्छ। यात्रु, चालक दल र परिवारको जीवन एकैछिनमा बदलिन्छ। यस्तो घटनापछि प्रश्न उठ्छ-कहाँ चुक्यौँ?तर दुर्घटनापछि मात्र सुरक्षा सम्झने संस्कृति कति सुरक्षित हुन्छ?सेफ्टी कुनै फाइल होइन।क्वालिटी  कुनै पद होइन।रिस्क म्यानेजमेन्ट कुनै बैठकको एजेन्डा होइन।यी त नागरिक उड्डयनका जीवनरेखा हुन्।त्यसैले उड्ड्य़न सुरक्षा  र यसको क्वालिटी  व्यवस्थापनजस्ता संवेदनशील जिम्मेवारीलाई कसरी संरचित गरिएको छ, कसले कसलाई रिपोर्ट गर्छ, निर्णय कति स्वतन्त्र हुन्छ, जोखिम पहिचान गर्ने संयन्त्र कति प्रभावकारी छ-यी प्रश्नमा गम्भीर सार्वजनिक बहस हुनुपर्छ।तर दुर्भाग्य, हामी दुर्घटनाको केही दिनपछि समाचार पढ्छौँ, केही दिन बहस गर्छौँ अनि बिस्तारै अर्को विषयतिर लाग्छौँ।आकाश भने फेरि उडिरहन्छ।र जोखिम पनि।

मन्त्रीज्यू, विमानस्थलको धावनमार्ग नजिकै जहाज अवतरणको तयारीमा हुँदा पनि गैरसम्बन्धित भारी सवारीसाधनहरू निर्बाध रूपमा सञ्चालन भइरहेका छन् भन्ने अवस्था छ भने त्यो केवल एउटा प्रशासनिक कमजोरी होइन। त्यो हाम्रो सुरक्षा संस्कृतिको ऐना हो।त्यसैगरी दुर्घटनामा परेको विमान कम्पनीको उडान अनुमति जारी भइसकेपछि पनि त्यो अनुमति कुन विमानबाट कार्यान्वयन गर्ने भन्ने विषयमा सम्बन्धित पक्षमै स्पष्टता नहुनुजस्ता अवस्था देखिन्छन् भने हामीले त्यसलाई सामान्य कागजी समस्या भनेर पन्छाउन मिल्दैन।यी सबै घटनाले एउटै कुरा सोधिरहेका छन्-हाम्रो निर्णय प्रणाली वास्तवमै कसका लागि काम गरिरहेको छ?मन्त्रीज्यू, यसबीच कर्मचारीको अवस्था पनि सम्झनुपर्ने हुन्छ।

साउनमा बढेको तलब असोजसम्म आइपुग्दा पनि कर्मचारीले आफ्नो पारिश्रमिकका लागि प्रतीक्षा गर्नुपर्ने अवस्था छ भने त्यो केवल कर्मचारीको समस्या होइन। त्यो व्यवस्थापनको ऐना हो जुन बर्षौ देखि को निरन्तर छ । महिनाभरि परिवारको खर्च धान्ने मानिसले आफ्नो तलब कहिले आउँछ भनेर पर्खिरहनुपर्दा उसबाट हामी कस्तो संस्थागत समर्पणको अपेक्षा गर्छौँ?विमान आकाशमा उडाउन खोज्ने संस्थाले आफ्नै कर्मचारीको मनोबल जमिनमा खसाल्नु हुँदैन।मन्त्रीज्यू, मलाई कहिलेकाहीँ लाग्छ-नेपालमा संस्थाहरू असफल हुनेभन्दा पहिले तिनको आत्मा थाक्छ।जब कर्मचारी बोल्न डराउँछन्, विशेषज्ञको कुरा सुनिँदैन, तथ्यभन्दा सम्बन्ध महत्वपूर्ण हुन्छ, निर्णय प्रक्रियामा केही सीमित मानिसहरूको प्रभाव बढ्छ र संस्थाभित्रको असहमति कमजोरी ठानिन्छ-त्यतिबेला संस्था बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर भइसकेको हुन्छ।

त्यसैले यदि आज प्राधिकरणमा समस्या छ भने त्यसलाई स्वीकार गरौँ।तर समस्या स्वीकार गर्नु र संस्था असफल घोषणा गर्नु एउटै कुरा होइन।हामीले प्राधिकरणलाई सुधार्नुपर्छ।तर सुधारको नाममा नयाँ–नयाँ शक्ति केन्द्र सिर्जना गर्नु हुँदैन।नियामक र सेवा प्रदायक छुट्ट्याउनु आवश्यक छ भने छुट्ट्याऔँ। तर नियामकलाई साँच्चिकै स्वतन्त्र बनाऔँ। सेवा प्रदायकलाई व्यावसायिक बनाऔँ। दुवैको जिम्मेवारी स्पष्ट गरौँ। राजनीतिक हस्तक्षेप घटाऔँ। विज्ञताको सम्मान गरौँ। निर्णय प्रक्रियालाई पारदर्शी बनाऔँ। र सबैभन्दा महत्वपूर्ण कुरा-जवाफदेहिता स्पष्ट गरौँ।किनकि संस्था दुईवटा भएपछि जिम्मेवारी दुईवटा हुन सक्छ, तर जवाफदेहिता हरायो भने समस्या दुईगुना मात्र हुन्छ।

मन्त्रीज्यू, तपाईंले चाहनुभयो भने आज एउटा ऐतिहासिक काम गर्न सक्नुहुन्छ।

विभाजनको विधेयकलाई केवल राजनीतिक प्रक्रियाको एउटा अर्को चरण नबनाउनुहोस्। यसलाई नेपालको नागरिक उड्डयन क्षेत्र पुनर्निर्माणको अवसर बनाउनुहोस्।आवाज भएका विज्ञहरू बोलाउनुहोस्।

नियामक निकायका रियल भेटेरान  मानिसहरू बोलाउनुहोस् जसले दुर्घटना अध्ययन समिति मा नाम आउला भन्ने नसोचिकनै तपाई संग निर्भाद कुरा हरु बताउन सक्छन ।

मौसम ले घेरिदा बाल बाल बचेका विमान चालकहरू बोलाउनुहोस्,जसले फिल्ड को कर्यसंकृति ,नियामक हरु ललिपप को बारे खुलस्त बोल्न सक्छन ।करियर सुरु गरेको ६ बर्ष सम्म पनि १५ हजार तलब मा बायु सेवाको ह्यांगर मा १२ घण्टा डीउटी गर्ने इन्जिनियरहरू बोलाउनुहोस्।

प्रशासन को प्रतारण मा परेर रात भर काम गरेर पनि पारिश्रमिक नपाएको एक  ट्राफिक कन्ट्रोलरहरू बोलाउनुहोस् जसले न्यून तलब मा बाल बच्चा श्रीमती र रोगि बा आमाको हेरचाह गरेर काठमाण्डौ मा बर्षौ सम्म संघर्ष गरिरहेको छ ।

विमानस्थलमा वर्षौँदेखि काम गरिरहेका कर्मचारीहरू बोलाउनुहोस् जसले लगानी नगरी कन कुरा मिलाएर कर्यसंस्कृति लाइ करप्सन को हब देखेका छन् ।

अडिट रिपोर्ट बुझाएर फर्केका अडिटर लाइ आजका मितिमै सोध्नुस तपाइँ दिएको अडिट रिपोर्ट को सौदाबाजी हुन्छ कि तपाइँ नै निर्णायक हो? उनी हरु अझै सोध्नु कुन कुन जहाज चढेर अडिट गर्न जानु हुन्छ? अन्य बायु  सेवा किन चढ्न मन पराउनु भएन ? अनि उनीहरूलाई एउटा प्रश्न सोध्नुहोस्-“तपाईंहरूलाई कस्तो नागरिक उड्डयन संस्था चाहिएको छ?” सायद त्यस दिन तपाईले कागजमा लेख्न लगाउनु भएको भन्दा धेरै सत्य सत्य कुरा हरु आफ्नो सामु पाउनु हुनेछ ।

मन्त्रीज्यू, म कुनै संस्था बचाउन यो पत्र लेखिरहेको छैन। म एउटा संस्कार बचाउन यो पत्र लेखिरहेको छु।त्यो संस्कार, जहाँ निर्णय तथ्यबाट होस्। त्यो संस्कार, जहाँ नेतृत्व परिणामबाट मापन होस्। त्यो संस्कार, जहाँ कर्मचारीको आवाज सुनियोस्। त्यो संस्कार, जहाँ सुरक्षा कुनै भाषणको शब्द होइन, हरेक निर्णयको पहिलो आधार बनोस्। त्यो संस्कार, जहाँ नागरिक उड्डयन कसैको व्यक्तिगत प्रभावको मैदान नहोस्।

नेपालको आकाश कसैको निजी सम्पत्ति होइन।

नागरिक उड्डयन प्राधिकरण पनि कसैको निजी संस्था होइन।

यो देशका नागरिकको संस्था हो।

त्यहाँ काम गर्ने प्रत्येक कर्मचारीको पसिना यसमा मिसिएको छ। प्रत्येक प्राविधिकको ज्ञान मिसिएको छ। प्रत्येक एयर ट्राफिक कन्ट्रोलरको एकाग्रता मिसिएको छ। प्रत्येक पाइलटको जिम्मेवारी मिसिएको छ। प्रत्येक यात्रुको विश्वास मिसिएको छ।

त्यसैले मन्त्रीज्यू,

यसलाई काट्नुअघि एकपटक यसको मुटु छाम्नुहोस्।

कहीं यो संस्था साँच्चै कुहिएको त छैन?

यदि कुहिएको छ भने कहाँ-कहाँ कुहिएको छ?

कुहिएको भाग काटेर जोगाउन सकिन्छ कि सकिँदैन?

यदि नयाँ संरचना बनाउनैपर्छ भने त्यसले साँच्चै नयाँ संस्कार ल्याउँछ कि पुरानै प्रवृत्तिलाई दुईवटा कार्यालयमा बाँड्छ?यी प्रश्नको उत्तर खोजौँ।

किनकि ऐन बदल्न सकिन्छ। संस्था बदल्न सकिन्छ।महानिर्देशक बदल्न सकिन्छ।मन्त्री बदलिन सक्छन्। सरकार बदलिन सक्छ।तर एकपटक दुर्घटनामा गुमेको जीवन फर्काउन सकिँदैन। त्यसैले नागरिक उड्डयनमा हामीले सबैभन्दा पहिले सम्झनुपर्ने शब्द हो-सुरक्षा। त्यसपछि मात्र संरचना।

मन्त्रीज्यू, तपाईं आज नेपालको पर्यटन र नागरिक उड्डयनको नेतृत्व गरिरहनुभएको छ। भोलि तपाईं यो मन्त्रालयमा हुनुहुने छैन। अर्को मन्त्री हुनेछ। अर्को सरकार बन्नेछ। तर तपाईंले आज गर्ने निर्णयको प्रभाव धेरै वर्षसम्म नेपालको आकाशमा रहनेछ।त्यसैले मेरो आग्रह छ-राजनीतिक सुविधाका लागि होइन, पुस्तौँको सुरक्षाका लागि निर्णय गर्नुहोस्। कसैको सुझावको दबाबमा होइन, तथ्यको आधारमा निर्णय गर्नुहोस्। कसैलाई खुसी पार्न होइन, नेपाली आकाशलाई सुरक्षित बनाउन निर्णय गर्नुहोस्।र सबैभन्दा ठूलो कुरा-नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्याउझैँ काट्ने निर्णय गर्नुअघि एकपटक त्यसको घाउमा हात राखेर हेर्नुहोस्। सायद तपाईंले त्यहाँ एउटा कार्यालयको घाउ होइन, नेपालको नागरिक उड्डयन क्षेत्रको पीडा महसुस गर्नुहुनेछ।सायद त्यहाँ तपाईंले हजारौँ कर्मचारीको मौनता सुन्नुहुनेछ। सायद त्यहाँ तपाईंले विमानस्थलमा उभिएको एउटा बुबा देख्नुहुनेछ, जसले विदेशबाट फर्कंदै गरेको छोराको प्रतीक्षा गरिरहेको छ।सायद त्यहाँ तपाईंले पहिलोपटक जहाज चढ्न लागेको एउटा यात्रुको आँखामा रहेको विश्वास देख्नुहुनेछ।

र त्यसपछि तपाईंले आफैँलाई सोध्नुहुनेछ-“मैले आज संस्था टुक्र्याएँ कि नेपालको आकाशलाई अझ सुरक्षित बनाउने बाटो खोलें?”

इतिहासले यही प्रश्नको उत्तर खोज्नेछ।

र त्यो उत्तर ऐनको पानामा मात्र लेखिने छैन।

त्यो उत्तर नेपालको आकाशमा लेखिनेछ।

माननीय मन्त्रीज्यू, निर्णय गर्नुअघि एकपटक आकाशतिर हेर्नुहोला।

त्यहाँ कुनै दलको झण्डा उडिरहेको छैन।

त्यहाँ कुनै व्यक्तिको नाम लेखिएको छैन।

त्यहाँ केवल नेपालको आकाश छ।

त्यो आकाशलाई सुरक्षित राख्ने जिम्मेवारी विभागीय मन्त्रीको हैसियतमा आज तपाईंको हातमा छ। मिल्यो भने काब्यबाटिका पोखरा-२२ मा भेटौला !!

Please Login to comment in the post!

you may also like