• Tuesday, March 3, 2026

युक्रेन–रुस युद्ध अन्त्यतर्फ कूटनीतिक आशा: बर्लिन वार्ता शान्ति सम्झौताको नजिक — ट्रम्प


काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीच जारी युद्ध अन्त्यतर्फ कूटनीतिक प्रयासहरू निर्णायक चरणमा पुगेको दाबी गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूबीच बर्लिनमा जारी वार्ता शान्ति सम्झौताको नजिक पुगेको ट्रम्पको भनाइ छ।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले जर्मनी, इटाली, फ्रान्स, बेलायत, पोल्याण्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड र नेदरल्यान्ड्सलगायत युरोपेली देशहरूबाट युद्ध अन्त्यका लागि बलियो समर्थन प्राप्त भएको बताएका छन्। उनका अनुसार ती देशहरू द्वन्द्वको अन्त्य चाहिरहेका छन् र यसका लागि सक्रिय रूपमा कूटनीतिक पहल गरिरहेका छन्।

‘उनीहरू अहिले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निरन्तर संवादमा छन्। मलाई लाग्छ, हामी पहिलेभन्दा अहिले शान्ति सम्झौताका अझ नजिक छौँ। हामी धेरै मानिसहरूको ज्यान बचाउन चाहन्छौँ,’ ट्रम्पले भने! यसैबीच, युद्ध अन्त्यको पक्षमा रहेका युरोपेली नेताहरूबाट पनि उल्लेखनीय समर्थन प्राप्त भइरहेको ट्रम्पले स्पष्ट पारे।

युक्रेनमा जारी युद्धको समाधानका लागि बर्लिनमा अमेरिका, युरोपेली संघ, नेटोका शीर्ष नेताहरू तथा राष्ट्रपति जेलेन्स्कीबीच घन्टौँ लामो कूटनीतिक छलफलपछि ट्रम्पको यो प्रतिक्रिया आएको हो।

अल जजिराका अनुसार, युरोपेली नेताहरू युक्रेनलाई कुनै न कुनै रूपको पश्चिमी सुरक्षा ग्यारेन्टी प्रदान गर्न सहमत भएका छन्। यसअघि राष्ट्रपति जेलेन्स्कीले पश्चिमी सुरक्षा ग्यारेन्टी सुनिश्चित भए युक्रेनले नेटो सदस्यतासम्बन्धी आफ्नो महत्वाकांक्षा त्याग्न सक्ने संकेत दिएका थिए।

Please Login to comment in the post!

you may also like