हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत रहेको उक्त गीत केही दिनभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। लामो समयपछि गायनमा फर्किएकी बेनुका राईको स्वरले फिल्मको भावनात्मक पक्षलाई अझ गहिरो बनाउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
स्वयं एक स्थापित गायिका रहेकी बेनुका पछिल्लो समय गायनबाट केही टाढा थिइन्। पति दयाहाङ राई अभिनयमा अत्यधिक व्यस्त भएपछि घरायसी जिम्मेवारीका कारण गायनमा सक्रिय हुन नसकेको उनले बताएकी छन्। यसअघि उनका ‘साइबा’, ‘आउ न ठूले फर्की आउ’, ‘जोगिया’ जस्ता गीतहरूले दर्शक–श्रोतामाझ विशेष लोकप्रियता कमाएका थिए।
फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई मुख्य भूमिकामा देखिँदैछन्। फिल्मले बुवा र छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राख्दै माया, संघर्ष र जीवनका संवेदनशील पक्षलाई प्रस्तुत गर्छ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको यस फिल्मका निर्देशक यम शेर्पा हुन्। दयाहाङ राईसँगै फिल्ममा प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल लगायत कलाकारहरूको सशक्त अभिनय रहेको छ।
फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाको लगानी रहेको छ। ‘मिरमिरे’ आगामी माघ १ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ।
भावनात्मक कथा, सशक्त कलाकार र अब बेनुका राईको मधुर स्वरले सजिएको ‘मिरमिरे’ दर्शकका लागि विशेष अनुभव बन्ने अपेक्षा गरिएको छ।