काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नेकपा माओवादी केन्द्रलगायतले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्।
जेठ १३ देखि प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको हो। सहमतिका लागि दलबीच छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन।
आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष
२०८२\८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन,
२०८२’ पेस गर्ने कार्यसूची छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची रहेको छ। दलबीच सदन सुचारु सहमति नभए आजको बैठक पनि अवरोध हुने सम्भावना छ।