काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल गर्दै मङ्गलबार पुनः बस्ने भएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सोमबार बसेको बैठकमा आगामी निर्वाचन, रणनीति तथा पार्टीको भूमिकाबारे विस्तृत छलफल भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार पार्टी पदाधिकारी तथा कार्यसम्पादन समितिका सदस्यहरूले धारणा राख्ने क्रम अझै बाँकी रहेकाले बैठक मङ्गलबार बिहान ११ः०० बजे पुनः बस्ने निर्णय गरिएको हो।
आजको बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार तथा कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, डा. नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला र एनपी साउँदले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।
यसैगरी, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल र मीन विश्वकर्मा तथा प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले पनि आफ्नो विचार व्यक्त गरेका थिए।
पार्टी नेतृत्वले राष्ट्रियसभा निर्वाचनलाई गम्भीरताका साथ लिँदै व्यापक छलफल र समन्वयमार्फत प्रभावकारी निर्णय गर्ने तयारी गरेको बताइएको छ।