काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आह्वान गरेकी छन्।
सोमबार साँझ बालुवाटारमा पूर्वसांसद मञ्चको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था अहिले निकै संवेदनशील रहेको उल्लेख गर्दै राष्ट्रिय कार्यभारका रूपमा रहेको निर्वाचन सफल बनाउन समाजका सबै पक्षले संयम, सहिष्णुता र सद्भाव देखाउनुपर्ने बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “अहिले मुलुकको अवस्था निकै संवेदनशील छ। प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीबोधका साथ भूमिका खेल्नुपर्छ। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्न सबैको जिम्मेवार भूमिका आवश्यक छ।”
उनले निर्वाचनका लागि सबै राजनीतिक दल तयार भइसकेको उल्लेख गर्दै अबको मुख्य कार्य मतदाता शिक्षा रहेको बताइन्। “निर्वाचन त हुन्छ नै। यो निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्छ। नयाँ पुस्ताको हातमा शासन व्यवस्था गएमा मुलुकले पक्कै लय समाउनेछ,” प्रधानमन्त्री कार्कीले भनिन्।
पूर्वसांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा पूर्वसांसदहरू रामेश्वर राय, विश्वेश्वरा दाहाल, रमा गुरागाईं, गोविन्दबहादुर शाह, हिक्मतबहादुर शाही, शंकरनाथ शर्मा, शिवराज जोशी, नरबहादुर हमाल, अक्कलबहादुर विष्ट, विष्णुबहादुर राउतलगायत सहभागी थिए।