• Tuesday, March 3, 2026

दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन हुँदै, २०८३ असारसम्म देशभर तथ्यांक संकलन


काठमाडौं। देशको समग्र आर्थिक अवस्थाको तथ्यांकीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आज आयोजना गरेको कार्यक्रममा गणनाको कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्दै आगामी वर्षको २०८३ असार मसान्तसम्म तथ्यांक संकलन सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराएको हो।

“अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नाराका साथ देशभर जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म तथ्यांक संकलन गरिनेछ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेका अनुसार गणनाबाट प्राप्त विवरणका आधारमा आर्थिक वर्ष २०८३/८४ को सुरुदेखि नै नतिजा क्रमशः सार्वजनिक गरिनेछ। उनका अनुसार यो गणना मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्यांक उपलब्ध गराउने महत्त्वपूर्ण कार्य हो।

गणनाअन्तर्गत उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण संकलन गरिनेछ।

कार्यक्रममा गणनाको उद्देश्य र महत्त्वबारे प्रकाश पार्दै प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोखरेलले आर्थिक तथ्यांकको संस्थागत आधार मजबुत बनाउन यो गणनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले भने, “राज्यले तय गर्ने अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि आवश्यक तथ्यांक प्राप्त गर्ने अपेक्षा गरिएको छ। यो गणना देशको आर्थिक तथ्यांकलाई विश्वसनीय बनाउने आधारस्तम्भका रूपमा रहनेछ।”

यस गणनाका आधारमा देशको कुल गार्हस्थ्य उत्पादन (GDP) को अनुमान सुदृढीकरण, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तनका लागि आवश्यक तथ्यांक उत्पादन, तथा नीतिनिर्माण र योजना तर्जुमामा सहयोग पुर्‍याउने उद्देश्य रहेको छ।

सरकारले यसअघि २०७५ सालमा पहिलो राष्ट्रिय आर्थिक गणना सम्पन्न गरेको थियो। सो गणनाअनुसार देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान/व्यवसाय रहेका र ती प्रतिष्ठानहरूमा ३२ लाख २८ हजार ४५७ जना मानिस रोजगारीमा संलग्न रहेको तथ्यांक सार्वजनिक भएको थियो।

Please Login to comment in the post!

you may also like