जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएका तोडफोड, आगजनी तथा विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगलाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लिखित वक्तव्य बुझाएका छन्। आयोगको टोली पत्र लिएर गुण्डुस्थित निवास पुगेपछि ओलीले सहजै पत्र बुझ्दै त्यही टोलीलाई लिखित जवाफ दिएका हुन्। यसअघि आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै उपस्थित नहुने बताएका ओली भने आइतबार पुल्चोकस्थित मानवअधिकार आयोगमा पुगेर करिब साढे दुई घण्टा बयान दिएका थिए।
आयोगले गृहमन्त्रीदेखि सुरक्षा निकायका उच्च अधिकारी, घाइते, शहीद परिवार, आन्दोलनका अगुवा, प्रत्यक्षदर्शी तथा विज्ञहरूसँग बयान संकलन गरिसकेको जनाएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार अधिकांश सरोकारवालाको भनाइ समेटिएको छ र अब बाँकी केही व्यक्तिको बयानपछि प्रतिवेदन लेखनलाई तीव्रता दिइनेछ। भदौ २३ को अत्यधिक बल प्रयोग र हताहती तथा भदौ २४ को विध्वंशबाट भएको क्षतिको यकिन विवरणसहित आयोगले थपिएको कार्यादेशअनुसार फौजदारी जवाफदेहिताका विषयमा सिफारिससहित प्रतिवेदन सरकारलाई तोकिएको अवधिभित्र बुझाउने तयारी गरेको छ।