• Sunday, October 19, 2025

नेपाल र भारतबीच आज साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनल भिडन्त


श्रीलंकाको कोलम्बोमा जारी साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाली टोलीले आज बिहीबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ। नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे रेसकोर्स स्टेडियममा सुरु हुनेछ।

नेपाल समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो। समूहगत चरणमा नेपालले आयोजक श्रीलंकालाई २–० ले हराएको थियो भने बंगलादेशसँग ४–० ले पराजित भएको थियो। श्रीलंकाविरुद्धको खेलमा नेपालका समीर कुमारले दुवै गोल गरेका थिए, जो जारी प्रतियोगितामा नेपालका एकमात्र गोलकर्ता हुन्। बंगलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।

यता, भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। भारतले समूहगत चरणमा माल्दिभ्सलाई ६–०, भुटानलाई १–० र पाकिस्तानलाई ३–२ ले हराउँदै ९ अंक जोडेको थियो। अर्को सेमिफाइनलमा बंगलादेश र पाकिस्तानले आजै दिउँसो ३:१५ बजे प्रतिस्पर्धा गर्नेछन्।

नेपालले साफ यू–१७ (पहिले यू–१५ र यू–१६) च्याम्पियनसिपको उपाधि अहिलेसम्म जित्न सकेको छैन र चारपटक फाइनलमा पराजित भएको छ। भारत भने ६ पटकको च्याम्पियन र साविक विजेता हो। बंगलादेशले २ र पाकिस्तानले १ पटक उपाधि जितेका छन्। यो प्रतियोगिताको १०औँ संस्करण हो।

नेपाल र भारतबीचको प्रतिस्पर्धा पहिलो संस्करण (सन् २०११) देखि नै हुँदै आएको छ। सन् २०११ मा नेपालमै आयोजित पहिलो संस्करणको सेमिफाइनलमा भारतले नेपाललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो। सन् २०१३ को फाइनलमा भारतले नेपाललाई १–० ले, सन् २०१५ को सेमिफाइनलमा १–० ले, सन् २०१७ को समूहगत चरण र फाइनलमा क्रमशः २–१ र २–१ ले, सन् २०१९ को समूहगत चरण र फाइनलमा क्रमशः ५–० र ७–० ले, सन् २०२३ को समूहगत चरणमा १–० ले र सन् २०२४ को सेमिफाइनलमा ४–२ ले हराएको थियो।

नेपालले सन् २०२२ मा समूहगत चरणमा भारतलाई ३–१ ले हराएको इतिहास छ, जुन प्रतियोगितामा नेपालको भारतविरुद्धको एकमात्र जित हो। तर, नकआउट चरणमा नेपालले भारतलाई कहिल्यै हराउन सकेको छैन।

आजको सेमिफाइनलमा नेपालसामु भारतलाई नकआउट चरणमा पहिलोपटक हराउँदै फाइनल पुग्ने अवसर छ। नेपाली टोलीले समीर कुमारको गोलमा भरोसा राख्नेछ। फाइनल खेल आगामी शनिबार हुनेछ।

Please Login to comment in the post!

you may also like