• Sunday, October 19, 2025

नेटो सैनिक उस्काउदै राष्ट्र संघ महासभामा जेलेन्स्की : पुटिनलाई नरोके युद्ध युक्रेनबाहिर फैलिन्छ


     काठमाडौ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई तत्काल रोकिएन भने रुसको आक्रमण युक्रेनबाहिर पनि विस्तार हुने चेतावनी दिएका छन् ।

न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभामा मंगलबार सम्बोधन गर्दै उनले भने, ‘भ्लादिमिर पुटिनलाई रोक्न सकिएन भने युद्धलाई अझ गहिरो र फराकिलो बनाउँदै लैजानेछन् ।’उनले सहयोगी मुलुकहरूले अझै बलियो एकता प्रदर्शन गर्नुपर्ने उल्लेख गरे । ‘हामी अहिले मानव इतिहासकै सबैभन्दा विनाशकारी हतियार दौडको बीचमा छौं । हतियारले नै आजको विश्वमा कसले बाँच्छ भन्ने निर्णय गर्छ’, उनले भने । जेलेन्स्कीले अन्तर्राष्ट्रिय संस्थाहरूलाई कमजोर रहेको भन्दै आलोचना गरे । उनले नाटोलाई परोक्ष संकेत गर्दै भने, ‘पुरानो सैन्य गठबन्धनमा हुनु मात्र सुरक्षित हुनु भन्ने होइन ।’उनले विश्वव्यापी हतियार होड रोक्न कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय नियम बनाउनुपर्नेमा जोड दिए । स्वचालित ड्रोन र मानवविहीन विमान पारम्परिक युद्धभन्दा खतरनाक हुने उनको दाबी छ । 


जेलेन्स्कीले युरोपले मोल्दोभा गुमाउने जोखिम लिन नसक्ने चेतावनी पनि दिए । उनका अनुसार पश्चिमी मुलुकहरूले जर्जिया र बेलारुसलाई पुटिनको प्रभावबाट जोगाउने मौका गुमाइसकेका छन् ।यसैबीच, मोल्दोभाकी प्र–युरोपेली राष्ट्रपति माइया सान्दुले क्रेमलिनले हिंसा भड्काउन र त्रास फैलाउन ‘सयौं मिलियन युरो खन्याएको’ आरोप लगाइन् ।


हालै एस्टोनिया, पोल्यान्ड र रोमानियाले आफ्ना आकाशसीमा रुसी ड्रोन र विमान प्रवेश गरेको भन्दै नाटो सदस्यहरूसँग परामर्श मागेका थिए ।

संयुक्त राष्ट्रलाई सम्बोधन गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य राष्ट्रहरूले आफ्नो आकाशसीमा उल्लंघन गर्ने रुसका विमान खसाल्नुपर्ने चेतावनी दिएका थिए ।जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटलाई ‘सफल’ भन्दै अमेरिकाले युद्धपछि युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विश्वास व्यक्त गरे । उनले थप हतियार, हवाई सुरक्षा प्रणाली र ड्रोन आपूर्तिको सम्भावनाबारे संकेत गरे ।ट्रम्पले यसअघि युक्रेनले शान्ति सम्झौताका लागि भूभाग त्याग्नुपर्ने सुझाव दिएका थिए । तर पछिल्लो धारणा भने फरक छ । उनले अब युक्रेनले नाटो र युरोपेली संघको सहयोगमा सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने विश्वास व्यक्त गरेका छन् ।

रुसलाई उनले ‘कागजी बाघ’ भन्दै व्यंग्य गरे भने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जवाफ फर्काउँदै भने, ‘रुस कुनै बाघ होइन, भालुसँग तुलना हुन्छ । कागजी भालु भन्ने अस्तित्वमै छैन ।’

यसैबीच, अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले रुसी समकक्षी सर्गेई लाभरोभसँग भेट गरेका छन् । गत महिना ट्रम्पले पुटिनलाई अलास्का आमन्त्रण गरेपछि भएको यो अमेरिकी–रुसी उच्चस्तरीय भेट हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार रुबियोले हत्या रोक्नुपर्ने र रुसले दीर्घकालीन समाधानका लागि सार्थक कदम चाल्नुपर्ने राष्ट्रपति ट्रम्पको आग्रह दोहोर्‍याएका छन् ।

तर, क्रेमलिनले उक्त भेटबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

Please Login to comment in the post!

you may also like