नेपालको सबैभन्दा ठूलो चाड दसैँ तिहार वर्षेनी धुमधामका साथ मनाइन्छ। तर समयको गति र जीवनशैलीको फेरबदलसँगै दसैँको स्वरूपमा व्यापक परिवर्तन आएको छ। पुरानो दसैँतिहार जहाँ पारिवारिक सद्भाव, सामूहिकता र परम्परागत मूल्यहरूसँग गाँसिएको थियो, आज त्यो दसैँ तिहारआधुनिकताको चट्याङमा अलिअलि हराउँदै गएको महसुस गर्न सकिन्छ।
एक समय थियो, जब दसैँ तिहार नजिकिँदै गर्दा गाउँघरका खेतबारीमा धानका बाला झुल्थे, आकाश घमाइलो हुन्थ्यो, र गुँडेरा फक्रिन्थे। गाउँका गल्लीहरूमा बाख्रा, खसी र भेडाका कराइहरू घन्किन्थे। बालबालिका विद्यालयबाट बिदा पाउँदै पिङ खेल्न चौतारी, चौर र रुखमुनि दौडन्थे। चोकचोकमा खसी काट्ने योजना, मासुको जोहो, र बाँडफाँडका विषयमा छरछिमेकबीच छलफल हुन्थ्यो। दसैँ तिहारको वातावरणमा न्यानोपन थियो, जहाँ लिपपोत, पँधेरोको सरसफाइ र परालको छानोमा नयाँ रङको छाप पाइन्थ्यो।तर अहिलेको दसैँ तिहार फरक छ। दसैँ अब धेरैका लागि घरभित्र सीमित रमाइलो, इन्टरनेटमा बित्ने समय, विदेश भ्रमण र विलासितातर्फ केन्द्रित हुँदै गएको देखिन्छ। तास खेल्ने, वाइन खाने, युट्युब हेर्ने, इन्स्टाग्राममा फोटो पोस्ट गर्ने, इमोजीमार्फत शुभकामना दिने प्रवृत्ति बढ्दै गएको छ।एक समय थियो, जब विदेशिएका नेपाली दसैँ तिहारमा घर फर्किन्थे। अहिले भने कतिपय मन्त्री, नेतादेखि आम सर्वसाधारणले समेत दसैँको ‘ब्रेक’ लाई विदेश भ्रमणको अवसरका रूपमा लिइरहेका छन्। त्यो सांस्कृतिक आत्मीयता, टीका–जमरा, बाजा–गाजा, सामूहिक पूजाका स्वरूप हराउँदै गइरहेको छ।अहिले दसैँमा पिङ ठड्याउने चलन प्राय: हराएको छ। बाबियो खोज्ने, पैसा उठाउने, पालो मिलाउने, गाउँका युवाहरूबीचको सहकार्य, रमाइलो, एकता — यी अब स्मृतिमा सीमित हुन थालेका छन्।त्यस्तै, पहिले गाउँमा देखिने हार्दिकता, भलाकुसारी, आपसी सहयोग, सामूहिक चुलोमा मासु पकाउने चलनको ठाउँ अब व्यक्तिगत पकवान र रेस्ट्रेन्टमा बित्ने भोजले लिएको छ।
सामाजिक आत्मीयता खुम्चिएको छ, र डिजिटल प्रविधिको प्रयोगले सम्बन्धलाई भर्चुअल बनाउँदै लगेको छ।मन्त्रजप, पूजा, र परम्परागत विधिहरूप्रति पनि आकर्षण घटेको छ। दसैँ अब धेरैका लागि खानपिन, रमाइलो र लामो बिदाको पर्याय बनेको छ। रेडियोमा साइत सुन्ने, पुराना गीतहरू झन् कम सुनिन थालेका छन् – "बिछोडका पीडा नसकी खप्न दसैँको बेलामा..." जस्ता गीतहरू अब केवल यादको पानामा सीमित छन्।यस परिवर्तनलाई केवल नकारात्मक भन्न मिल्दैन। जीवनशैलीको परिमार्जन, समयको अभाव, र प्रविधिमा निर्भरता आजको यथार्थ हो। तर, त्यसैको बीचमा परम्परागत सांस्कृतिक मूल्यमान्यताहरू पनि संरक्षण गर्न जरुरी छ।दसैँ केवल खानपिन वा आरामको पर्व मात्र होइन। यो त हाम्रो संस्कार, संस्कृति र सामाजिक बन्धनको मूल सूत्र हो। यो पर्वले हामीलाई जहाँबाट जेसुकै भए पनि परिवार, गाउँ, र समाजसँग पुनः जोड्ने अवसर दिन्छ। त्यसैले आधुनिकतासँगै परम्पराको सम्मान पनि गरौं। पिङ हराउँदा त्यो केवल खेल होइन, बाल्यकाल गुमिरहेको हो; टीका छुट्दा केवल प्रसाद होइन, सम्बन्ध छुटिरहेको हो। हामीले दसैँलाई आधुनिक तरिकाले मनाउनु राम्रो हो, तर त्यो आधुनिकता हाम्रो मौलिकता, आत्मीयता र सामाजिक सम्बन्धको मुल्यमा नहोस् – यही हो दसैँ तिहारको साँचो सार।