काठमाडौँ— देशका पश्चिम र हिमाली भूभागमा लगातारको हिमपातसँगै ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई उच्च हिमाली क्षेत्रतर्फ यात्रा नगर्न आग्रह गरेको छ। यसैबीच, मनाङ र मुस्ताङमा अलपत्र परेका सयौँ यात्रुहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार गरेका छन्।टानका अध्यक्ष सागर पाण्डेले मंगलबार जारी गरेको विज्ञप्तिमा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै भनेका छन्, “पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण कात्तिक १० देखि १२ गतेसम्म कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ, त्यसैले हिमाली क्षेत्रको यात्रामा ध्यान दिन अनुरोध गर्दछौं।”टानका अनुसार हाल डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ, सगरमाथा लगायतका पदयात्रा मार्गहरूमा वर्षासँगै हिमपात शुरू भइसकेको छ र पर्यटकीय गतिविधि प्रभावित भएका छन्। केही क्षेत्रमा स्थानीय प्रशासनले अस्थायी रूपमा पदयात्रा रोक लगाएको पनि अध्यक्ष पाण्डेले जानकारी दिएका छन्।“मौसममा सुधार नआउँदासम्म उच्च हिमाली क्षेत्र र पास हुँदै हुने सबै पदयात्रा नगर्न र नगराउन अनुरोध गर्दछौं,” पाण्डेले भने। उनले पदयात्री, आरोहण दलका सदस्य तथा सहयोगीहरूलाई स्थानीय सरकार, प्रशासन, सेना, सशस्त्र प्रहरी, प्रहरी र संरक्षण क्षेत्रका व्यवस्थापकसँग समन्वय गरेर मात्रै यात्रा अघि बढाउन सुझाएका छन्।गएरातिदेखिको बाक्लो हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र परेका करिब ७५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङ्सार ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। अन्य ५० जनालाई तिलिचो बेस क्याम्पमै सुरक्षित राखिएको छ।थापाका अनुसार, “खाङ्सारमा बसोबासको समस्या देखिएपछि उद्धार गरिएका पर्यटकहरूलाई सुरक्षितसाथ फर्कने व्यवस्था मिलाइएको छ।”
यसबीचमा, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय (मनाङ)को टोलीले उद्धार गरी हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ। सशस्त्र प्रहरीले जनाए अनुसार, शिक्षालय स्थापना भएपछि उच्च हिमाली क्षेत्रमा उद्धार कार्य थप प्रभावकारी बनेको छ।हिमपातले सडक अवरुद्ध भएपछि मनाङ र मुस्ताङका विभिन्न क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पन्छाउने कार्य गरेको छ।मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङ क्षेत्र र कोरोला नाकातर्फको बाटो खुलाइएको छ भने यात्रुहरूलाई मौसम प्रतिकूल हुँदा यात्रा नगर्न आग्रह गरिएको छ।त्यस्तै, मनाङको हुम्डेदेखि खाङ्सार जाने बाटोमा परेको हिउँ सशस्त्र प्रहरी बल नं ३२ गुल्मले हटाएको छ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ क्षेत्रका पदयात्रीहरूको सुरक्षाका लागि पनि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेस नारच्याङको टोली खटिएको छ।यसैबीच, जल तथा मौसम विज्ञान विभागले अबदेखि मौसम पूर्वानुमान सेवा वर्षको ३६५ दिन बिहान ६ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।विभागले मंगलबार जारी सूचनामा भनेको छ, “विशेष परिस्थितिबाहेक नियमितरूपमा देशभरको मौसम सूचना र हवाई पूर्वानुमान सेवा निरन्तर उपलब्ध हुनेछ।”विभागले अब पूर्वानुमान सेवा केन्द्रीय कार्यालय बबरमहलबाट, र हवाई उड्डयन सेवा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गर्ने जनाएको छ।