नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको सूचना प्रविधि कम्पनी फ्युजमेसिन्स ले अमेरिकी नास्डाक स्टक एक्सचेन्जमा बिहीबारदेखि आफ्नो शेयर ‘FUZ’ टिकर नामबाट कारोबार सुरु गरेको छ। बौद्धिक कृत्रिमता (Artificial Intelligence) क्षेत्रमा काम गर्ने यो कम्पनीले दुई वर्षअघि अमेरिकी कम्पनी CSLM Acquisition Corp. सँग गरेको मर्जरपछि नास्डाकमा सूचीबद्ध भएको हो। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. मास्केले सानो समूहबाट सुरु गरिएको कम्पनीले विश्वस्तरको बजारमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्ने लक्ष्य रहेको बताए। फ्युजमेसिन्समा हाल करिब ३५० कर्मचारी कार्यरत छन्, जस मध्ये २६० जना नेपालमा कार्यरत छन्। नास्डाकले जारी गरेको विज्ञप्तिमा CSLM Acquisition Corp. र फ्युजमेसिन्स बीचको साझेदारी प्रक्रिया पूरा भएको उल्लेख गरिएको छ। मर्जरपछि कम्पनीको संचालक समितिमा डा. समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन् भने प्रमुख वित्त अधिकृत (CFO) क्रिष्टिन च्याम्बर्स हुन्। यससँगै नेपालीले स्थापना गरेको कम्पनीले विश्वबजारमा प्रवेश पाएको छ र प्रविधि क्षेत्रमा नेपाली योगदानलाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ।