काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा खुला मौसम कायम रहने महाशाखाले जनाएको छ। विशेषगरी कोशी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
बिहीबार राति पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मौसम स्पष्ट रहने अपेक्षा गरिएको छ।
यसैबीच, काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। बिहीबार बिहान ५:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रेकर्ड गरिएको महाशाखाले जनाएको छ।