काठमाडौँ। चालू आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा बागमती प्रदेश सरकारले १७ दशमलव १८ प्रतिशत राजस्व संकलन गर्दै ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार रकम जुटाएको छ। वार्षिक लक्ष्यअनुसार यो प्रगति अपेक्षाकृत सुस्त मानिएको छ।
प्रदेशको राजस्व संकलनमा घरजग्गा रजिस्ट्रेसन (मालपोत) तथा सवारीसाधन कर प्रमुख स्रोत रहेका छन्। यी दुवै शीर्षकसमेत समावेश गरी आव २०८२/८३ मा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व उठ्ने अनुमान गरिएको थियो। तर साउनदेखि कात्तिकसम्ममा करिब २२ दशमलव ४५ प्रतिशत अर्थात् ६ अर्ब ९३ करोड ६४ लाख ४६ हजार मात्र संकलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए।
घरजग्गा रजिस्ट्रेसन शीर्षकमा आठ अर्ब नजिक राजस्व संकलन गर्ने लक्ष्य रहेकामा पहिलो चार महिनामा १६ दशमलव ७ प्रतिशत मात्र प्रगति भयो। यस शीर्षकबाट एक अर्ब २३ करोड ७० लाख ३५ हजार संकलन भएको छ।
सवारीसाधन करतर्फ भने तुलनात्मक रूपमा राम्रो प्रगति देखिएको छ। अनुमानित आठ अर्ब २५ करोडमध्ये २८ दशमलव २ प्रतिशत अर्थात् दुई अर्ब ३१ करोड १८ लाख ४२ हजार संकलन भइसकेको छ। यसअन्तर्गत सवारी जाँचपास, रुट पर्मिट तथा सवारीचालक अनुमतिपत्र वितरण/नवीकरणबाट रकम प्राप्त भएको हो।
प्रदेशले बाँडफाँटमार्फत पाउने मूल्य अभिवृद्धि कर (VAT) शीर्षकमा आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार उठ्ने अनुमान थियो। तर चार महिनामा दुई अर्ब ४९ करोड ५५ लाख ३५ हजार मात्र प्राप्त भयो। अन्तःशुल्क करमा लक्षित चार अर्ब तीन करोडभन्दा धेरैमध्ये हालसम्म ८४ करोड ३६ लाख २१ हजार संकलन भएको छ।
संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकोमा पहिलो चार महिनामा २३ दशमलव ३७ प्रतिशत अर्थात् तीन अर्ब ४६ करोड ३४ लाख ७१ हजार मात्र प्रदेशले पाएको मन्त्रालयले जनाएको छ।
आन्तरिक स्रोततर्फ चालू आवमा चार अर्ब ७७ करोड ७४ लाख २५ हजार उठ्ने लक्ष्य रहेकामा अहिलेसम्म २३ दशमलव ७० प्रतिशत अर्थात् एक अर्ब १३ करोड २२ लाख २८ हजार संकलन भएको छ।
प्रारम्भिक प्रगतिले आर्थिक वर्षको बाँकी अवधिमा राजस्व संकलन क्षमता मजबुत बनाउने आवश्यकतामा प्रदेश मन्त्रालयहरूले जोड दिएको छ।